सि.टा. समाचारदाता
सिमकोट । बिक्री भएका सिममध्ये ९२ प्रतिशतमा इन्टरनेट प्रयोग भएको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको २०८३ असोजसम्मको तथ्याङ्क अनुसार करिब दुई करोड ७६ लाख सिममा इन्टरनेट प्रयोगमा रहेको पाइएको हो । कुल जनसङ्ख्याका आधारमा भने ९४.६३ प्रतिशतले मोबाइल इन्टरनेट प्रयोग गर्ने तथ्याङ्कले देखाउँछ ।
प्राधिकरणका अनुसार असोजसम्म दुई वटा प्रदायकका दुई करोड ९९ लाख ३१ हजार सिम बिक्री भएका छन् ।
जसमध्ये नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का एक करोड ५३ लाख ४६ हजार र एनसेलका एक करोड २३ लाख ४२ हजार सिममा इन्टरनेट सक्रिय गराइएको तथ्याङ्कले देखाउँछ । बजारका हिसाबले टेलिकमको ५५.४३ प्रतिशत र एनसेलको ४४.५७ प्रतिशत हिस्सा रहेको छ । इन्टरनेट सक्रिय भएका सिममध्ये दुई करोड ६९ लाख ४७ हजारमा फोरजी प्रयोग भएको विवरणले देखाउँछ ।
जसमध्ये टेलिकमका एक करोड ४७ लाख र एनसेलका एक करोड २१ लाख सिम छन् । त्यस्तै करिब सात लाख ३९ हजार सिममा थ्रिजी प्रयोग भएको पाइएको छ । टेलिकमका थ्रिजी प्रयोगकर्ताको एनसेलको तुलनामा धेरै छन् ।
विवरण अनुसार एनसेलका ९६ हजार सिममा थ्रिजी प्रयोग भइरहेकोमा टेलिकमका करिब छ लाख ४३ हजार सिममा थ्रिजी प्रयोग भएको पाइएको छ ।
एक वर्षमा थप आठ लाख सिममा मोबाइल इन्टरनेट प्रयोग बढेको पाइएको छ । प्राधिकरणका अनुसार २०८२ असोजसम्म करिब दुई करोड ६८ लाख सिममा इन्टरनेट प्रयोग भएको थियो ।
जसमध्ये एक करोड ५० लाख नेपाल टेलिकमका र एक करोड १७ लाख एनसेलका प्रयोगकर्ता थिए । सो महिनासम्म बजारमा दुई करोड ९३ लाख सिम बिक्री भएका थिए । कुल सिम बिक्रीका आधारमा करिब ९१ प्रतिशतमा इन्टरनेट प्रयोग भएको तथ्याङ्कले देखाउँछ ।
प्रविधिका हिसाबले इन्टरनेट सेवा ‘सब्सक्राइब’ अर्थात् सेवा खरिद गर्नेको सङ्ख्या करिब तीन करोड १२ लाख पुगेको छ, जसमध्ये मोबाइल इन्टरनेटबाहेक तारमा आधारित फिक्स्ड इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या ३५ लाख ६८ हजार पुगेको छ । यस्तो प्रविधिबाट इन्टरनेट गर्नेमध्ये तीन लाख ७५ हजार नेपाल टेलिकम र करिब ३२ लाखले निजी क्षेत्र कम्पनीले उपलब्ध गराएको इन्टरनेट प्रयोग गरेको पाइएको छ ।
तारविहीन फिक्स्ड इन्टरनेट प्रयोगकर्ता भने केवल २९ हजार मात्र रहेको तथ्याङ्कले देखाउँछ । एउटै व्यक्तिले फिक्स्ड इन्टरनेट र फरक फरक सेवा प्रदायकको मोबाइल इन्टरनेट प्रयोग गर्ने भए पनि प्राधिकरणले त्यसलाई सिम र फिक्स्ड इन्टरनेटका आधारमा अलग अलग गणना गर्ने प्रवक्ता मीनप्रसाद अर्याल बताउनुहुन्छ ।
जसले गर्दा इन्टरनेट प्रयोग गर्नेको सङ्ख्या बढी देखिने उहाँको भनाइ छ । प्रविधि अनुसार कुल इन्टरनेट प्रयोगकर्तामध्ये ८८.४७ प्रतिशत हिस्सा मोबाइल इन्टरनेटको रहेको छ । त्यसपछि तारसहितको फिक्स्ड इन्टरनेटको ११.४४ प्रतिशत र बाँकी ०.०९ प्रतिशत तारविहीन फिक्स्ड ब्रोडब्यान्ड रहेको छ ।
फिक्स्ड इन्टरनेट सेवा प्रदायकमध्ये बजारका हिसाबले वल्र्डलिङ्क कम्युनिकेसन लिमिटेडको हिस्सा सबैभन्दा धेरै छ । प्राधिकरणका अनुसार कुल फिक्स्ड इन्टरनेट प्रयोगकर्तामध्ये ३१.२४ प्रतिशत अर्थात् ११ लाख २३ हजारले यस कम्पनीको इन्टरनेट प्रयोग गर्छन् । त्यसपछि नेपाल टेलिकमको हिस्सा ११.१५ प्रतिशत रहँदा भायनेट कम्युनिकेसनको १०.५८ प्रतिशत र डिस मिडिया नेटवर्कको १०.४५ प्रतिशत रहेको छ ।









