गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा

सि.टा. समाचारदाता

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु हुनु निजी क्षेत्रको लागि सुखद् भएको उद्योगी व्यवसायीहरुले बताएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शुक्रवारदेखि करिव पाँच महिना दैनिक १० घण्टा बन्द भएसँगै विमानस्थलको उडान कटौती गरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट वायुसेवा कम्पनीहरुले उडान शुरु गरेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि अर्को नयाँ विमानस्थल सञ्चालनमा आएको दुई वर्ष पूरा हुँदा पनि पूर्णरुपमा सञ्चालन हुन सकेको थिएन ।

तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नति गर्न लागेकाले उडान कटौती गरी विकल्पको रुपमा अन्तर्राष्ट्रिय विमान कम्पनीहरुले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु गरेसँगै उद्योगी व्यवसायीहरु उत्साहित छन् ।

विमानस्थल बन्ने भएसँगै भैरहवामा निजी क्षेत्रले होटल लगायत पर्यटन पूर्वाधारमा ठूलो लगानी गरेका थिए । विमानस्थल सञ्चालनमा आउन नसक्दा खर्बौैंको लगानी डुब्ने चिन्तामा रहेका उद्योगी व्यवसायीहरुलाई थोरै भए पनि राहत हुने देखिएको छ ।

उद्योगी व्यवसायीहरुले राज्यले नीतिगत रुपमा वैदेशिक रोजगारीमा जाने यात्रुहरुको लागि पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट केही उडान गर्ने व्यवस्था गरी पर्यटनको लागि प्रचारप्रसार गर्नुपर्ने व्यवसायीहरुको भनाइ छ ।

उनीहरुले बहाना गर्ने नभइ अन्तर्राष्ट्रिय विमान कम्पनीहरुलाई सहुलियत र सेवा सुविधा दिएर दीर्घकालिन रुपमा सञ्चालन गर्न आवश्यक रहेको बताएका छन् ।

जजिरा,थाई र एयर एशियाले विमानस्थलबाट उडान नै सुरु गरेका छन् । विमानस्थल सञ्चालनसँगै आर्थिक क्षेत्रसँग जोड्न आवश्यक रहेको निजी क्षेत्रले बताएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिको लागि १० घण्टा बन्द गर्दा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु हुनु निजी क्षेत्रको लागि सुखद् भएको बताए ।

उनले निजी क्षेत्रले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न बारम्बार सरकारसँग माग गर्दै आएको भन्दै काठमाडौँमाको विमानस्थल बिस्तारको क्रममा उडान कटौती गरी भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु हुनु निजी क्षेत्रका लागि सकारात्मक भएको उल्लेख गरे ।

उनले पर्यटन आगमनको सिजनको समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्नुपर्ने अवस्था भएकाले काठमाडौँ आउने पर्यटकमा कमी देखिएको बताए ।

उनले पर्यटन सिजनको समय भन्दा अन्य समयमा विमानस्थल बिस्तार गर्न व्यवसायीहरुले माग गरेको बताए।