सि.टा. समाचारदाता
सिमकोट । सरकारले हुम्ला जिल्ला भरका स्थानीयका लागि जन्म र मृत्यु प्रयोजनका लागि निशुल्क रुपमा उपलब्ध गराउने खाद्यान्न ३५० क्वीन्टल भन्दा बढी रहेको छ ।
जन्म र मृत्यु संस्कारका लागि आवश्यक पर्ने खाद्यान्न जोहो गर्न कठिन भई रहेको बेला तीन आर्थिक वर्षमा सो खाद्यान्न सहयोग गरिएको हो। जन्ममा सुत्केरीलाई गास र मृत्युमा परिवारका सदस्यलाई मृत्यु संस्कार गर्न सहयोग पुग्ने गरेको कारण सरकारले अनुदानमा खाद्यान्न बितरण हुने गरेको छ ।
यस्तो अवस्थामा गरिबलाई ऋण काडेर समस्या टार्नु बाध्यता समेत हटेको छ । जिल्लाभर खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडका शाखा, डिपो र बिक्री केन्द्रबाट जन्म र मृत्युको समयमा बीस केजी खाद्यन्न उपलब्ध गराउने गरेको छ ।
लिमिटेडबाट आर्थिक वर्ष ०७८।०७९ देखि २०८१ सालको पुस तेस्रो हप्तासम्म जन्म र मृत्युका लागि तीन सय पचास दशमलव पाँच क्वीन्टल खाद्यान्न सहयोग गरेको लिमिटेड हुम्ला शाखाका प्रमुख कृष्ण प्रसाद अधिकारीले दिए ।
यो खाद्यन्न पाउनेमा साठी प्रतिशत जन्मका लागि र चालीस प्रतिशत मृत्युका घटनाका लागि बितरण हुने गरेको छ । उक्त खाद्यन्न लिन आउने परिवारलाई लिमिटेडले ढुवानीका लागि पाँच लाख ९५ हजार रुपियाँ नगद समेत प्रदान गरेको छ । ढुवानी दर दुरी हेरि पाँच सयदेखि एक हजारसम्म खाद्यन्न पाउने परिवारलाई दिने गरिएको छ ।
खाद्यन्न लिन जाँदा ज्याला समेत सरकारले ब्यहोर्ने गरेको हो । २०७३ साल पुसबाट सरकारले साविक कर्णालीका पाँचै वटा जिल्लाहरु हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालीकोटका स्थानीयलाई उक्त खाद्यन्न सहयोग हुँदै आएको छ ।














