
सि.टा. समाचारदाता
सिमकोट । हालसम्म टेलिफोन र इन्टरनेटको समस्या भोगी रहनु भएका अदानचुली गाउँपालिकाका स्थानीयवासीलाई नेपाल टेलिकमको फोर जी सेवा सञ्चालनमा आएपछि सहज भएको छ । फोरजी सेवाको टावरमा मेशिन जडान कार्य सम्पन्न हुँदा इन्टरनेट सेवा सञ्चालनमा आएको हो ।
दक्षिणी क्षेत्रका अधिकाँश बस्तीहरुमा फोर जी सेवा सञ्चालनमा आएको नेपाल टेलिकम हुम्लाले जनाएको छ । अदानचुली र सर्केगाड गाउँपालिकाको बीच भाग च्याममा निर्माणधिन टावर सञ्चालनमा आउदा स्थानीयलाई सहज भएको छ ।
दुर्गम गाउँमा फोर जीसेवा सञ्चालनमा आएपछि हुम्लाको दक्षिणी क्षेत्र ताँजाकोट, अदानचुली र सर्केगाड गाउँपालिका तथा मुगुको सोरु गाउँपालिका सहित बाजुरा जिल्लाका आसपासका सबै गाउँमा फोरजी सेवा सञ्चालन भएको हो ।
यस अघि हरेक वडा कार्यालय र गाउँपालिकाको कार्यालयमा गएर भिडियो कलदेखि अन्य इन्टरनेट सम्बन्धी काम गरि रहेका त्यहाँका स्थानीयलाई अव भने घरघरको मै बसेर भिडियो कल गर्न र फोन गर्न सहज भएको गाउँपालिका अध्यक्ष मोहन बिक्रम सिंहले जानकारी दिए ।
गाउँमै फोरजी सेवा सहितको इन्टरनेट र टेलिफोन सेवा सञ्चालनमा आएपछि स्थानीयले राहत महसुस गर्नुका साथै स्थानीय तहको दैनिक कार्य सम्पादनमा समेत सहज भएको होे । फोर जी सेवा विस्तारले गाउँमा विद्युतीय माध्यमबाट शिक्षा, स्वास्थ्य, सामाजिक सेवा र मनोरन्जन तथा सूचना आदान प्रदानको कामसमेत सहज हुने छ ।
उनले आफु निर्वाचित भएदेखि नै सो टावर निर्माणका लागि काठमाडौंमा नेपाल टेलिकममा धाउदा धाउदा बल्ल त्यसको प्रतिफल मिलेको बताए । फोर जी सेवा सञ्चालनमा आएपछि दक्षिणी क्षेत्रको सामुदायीक रेडियो र सञ्चारकर्मीहरुलाई पनि सहज भएको छ ।
यसअघि सञ्चारकर्मीले इन्टर नेट सेवा उपलब्ध हुने स्थानमा गएर आफ्नो कार्य गर्नु पर्ने बाध्यता थियो अदानचुली गाउँपालिकाको च्याममा राखिएको टावर सञ्चालनमा आएको सो टावर निर्माणको जिम्मा पाएका नर्माण ब्यवसायी अदानचुली गाउँपालिका–५ का दिर्घ सिंहले जानकारी दिए ।
यसअघि वल्र्ड लिंक र एभरेष्टको टावर डाउन भएपनि आफुहरुको काम अबरोध भएको सम्झदै उनले अब सो समस्याबाट मुक्ति मिलेको बताए । पालिकाले विगत दुई वर्षदेखि टेलिकमको केन्द्रीय कार्यालय काठमाडौँसँग निरन्तर पत्राचार, प्रत्यक्ष भेटघाट र अनुरोध तथा समन्वयपछि गत वर्षदेखि यस क्षेत्रमा टावर निर्माण सुरु भएको थियो ।
आफ्नो मोवाईलमा इन्टरेनट चलाउदै खुसीको सिमा नै नरहेको अदानचुली गाउँपालिका–६ का बिष्णु बुमीले बताए । यो खुसी बुमीको माध नभएर सिंगो दक्षिणी क्षेत्रका जिल्लाबासीको रहेको छ । जिल्लाको आधा भन्दा बढी जनसंख्या ती गाउँपालिकामा रहेको छ ।














