सि.टा. समाचारदाता
सिमकोट । सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिका पुर्ण खोप सुनिश्चित घोषित हुने भएको छ । आठ वटै वडाहरु पुर्ण खोप सुनिश्चित भई सकेको र त्यसको गाउँपालिका स्तरबाट अनुगमनका क्रममा समेत निर्धारित उमेर समुहका बालबालिका कोही पनि खोप नलगाएको नभेटिएपछि अब गाउँपालिकालाई घोषणा गर्ने बाटो खुलेको थियो ।
गाउँँपालिकाका आठ वटै वडाहरु पुर्ण खोप सुनिश्चित घोषित भएको स्वास्थ्य शाखाका प्रमुख नरबहादुर भण्डारीले बताए । अब बैशाख २० गते शनिबार गाउँपालिकालाई पुर्ण खोप सुनिश्चित घोषित गर्ने कार्यक्रम समेत तय भएको छ । वडाहरु घोषित भई सकेपछि गरिएको अनुगमन कार्यमा पनि कुनै पनि वडाका वस्तीमा निर्धारित उमेरका बालबालिकाहरु खोप नलगाएको नभेटिएको कारण अब गाउँपालिकालाई घोषित गर्ने बाटो खुलेको उनले बताए ।
एक कार्यक्रमको आयोजना गरि पुर्ण खोप सुनिश्चित घोषणा गर्ने तयारी गरिएको छ । शाखाले उपलब्ध गराएको बिबरण अनुसार घरधुरी सर्वेक्षणको क्रममा पुर्ण खोप पाएका १५ देखि ५९ महिनाका बालबालिकाहरु आठ वटै वडामा ५५५ जना रहेका छन । जसमा दोजाम आधारभुत स्वास्थ्य केन्द्रमा १९ उक्त उमेर समुहका बालबालिका रहेका छन् ।
त्यसैगरि ठेहे स्वास्थ्य चौकीमा ७४ जना, बरगाउँ स्वास्थ्य चौकीमा आठ जना, वुराउसे आधारभुत स्वास्थ्य केन्द्रमा दश जना, जिल्ला अस्पतालमा ७३ जना, माथिल्लो गाउँ आधारभुत स्वास्थ्य केन्द्रमा २४ जना, डाडाफया स्वास्थ्य चौकीमा १५४ जना, स्याडा स्वास्थ्य चौकीमा २०४ जना बालबालिका रहेका छन् । खोप लिई रहेका जन्मेददेखिख पन्द्र महिनासम्मका बालबालिका भने १८४ जना रहेका छन् ।























