सि.टा समाचारदाता
हुम्ला । गत जेठमा १ गते राती हिमतालको पानी चुहिएर पहिरो जाँदा गाउँ जोखिममा रहेको अवस्थामा हाल गाउँपारी पट्टीको सुरक्षित चौरमा बास बस्दै आएका नाम्खा गाउँपालिका– ६ को हिमालपारीको तील गाउँका पहिरो पिडितहरु गाउँ छोड्ने मनस्थितीमा पुगेका छन । हिम पहिरोले गाउँ जोखिममा पारेको र अब त्यहाँ बस्न उपयुक्त हुन नहुने निष्कर्षमा तील गाउँवासी पुगेका हुन ।
लिमीको तील गाउँमा हाल सुरक्षित स्थानमा पाल टाँगेर बस्तै आएका नम्डु तामाङले हिमपहिरो पिडित सबै गाउँ छोडेर जाने तयारीमा रहेको बताए । उनले अब जहिले पनि तील गाउँ हिमपहिरो र पहिरोको उच्च जोखिममा पुगेको स्थानीयले निष्कर्ष निकालेको र आउने कातिक मङ्सीर महिनापछि गाउँ नै छोड्ने मनस्थितीमा रहेको बताए ।
यसअघि तील गाउँ छोडेका सबै हाल काठमाडौंमा बस्दै आएका छन । काठमाडौंमा रहँदै आएका आफन्तले समेत गाउँ छोड्न सुझाव दिने गरेको र आफुहरु पालमा बस्दै आएकाहरुले पनि गाउँ छोड्ने निष्कर्ष निकालेको बताउदै उनले सुरक्षित रहन पनि गाउँ छोड्नु आवश्यक देखिएको बताए ।
अर्की ७७ वर्षकी स्थानीय पुटी लामाले डर र त्रासले गर्दा आफुहरुलाई गाउँ छोड्न बाध्य भएको बताई । हिमपहिरो जाँदाको राती सम्झदै उनले त्यो दिन कसरी बाँचिए छ भन्ने लाग्न थालेको बताई । घरका सदस्य मध्य तीन जना हाल काठमाडौंमा बस्दै आएको र उनीहरुले जसरी पनि गाउँ छोडेर काठमाडौं आउन आग्रह गरि रहेको लामाले बताई ।
घरमा ताला लगाउने जग्गा बाँजो राख्ने भएपनि भएका पशुबस्तु भने कसरी ब्यवस्थापना गर्ने भन्ने चिन्ता भने रहेको उनको भनाई रहेको छ । लिमीको वडा अध्यक्ष पाल्जोर तामाङले गाउँ छोड्न नमान्ने तील गाउँका केही घरधुरीहरु पनि गत जेठमा खसेको हिमपहिरोको डरले अब हाल तील गाउँमा बस्दै आएका सवै घरधुरी गाउँ छोडेर जाने निष्कर्षमा पुगेको बताए ।
आफुले तील गाउँवासीको यो मनसाय बुझेपछि निक्कै सम्झाउन खोजेको भएपनि गाउँ छोड्ने अन्तिम तयारी गरि रहेको उनले बताए । ६४ घरधुरी रहेको तील गाउँमा हिमपहिरो जाने समयमा १८ घरधुरी गाउँमा बस्दै आएका थिए । पछि ताक्लाकोटमा काम गर्दै आएका पाँच घरधुरी गाउँफिर्ता आउदा हाल २३ घरधुरी तील गाउँमा रहँदै आएका छन् ।
अब हालका तीलवासील् गाउँ छोडेर गएपछि तील गाउँ पनि मानिस बिहीन हुनेछ । यसअघि लिमी कै जाङ गाउँ मानिस बिहीन भई सकेको छ । अर्को लिमीको हल्जी गाउँ एक हजार दुई सय वर्ष पुरानो गुम्बाको कारण गाउँ छोड्न सकेका छैनन ।
























