सि.टा. समाचारदाता
सिमकोट । हाल दुई जिल्लाको सीमा विवाद देखिएको लाम्पाटा च्याचौरका जडिबुटी हुम्लावासीले संकलन गरेर हालको बर्दियाको राजापुरमा लगेर बिक्री गर्ने गरिएको बिगत पत्ता लागेको छ ।
त्यतिबेला हालको जसरी ब्यापारी हुम्लामा नआउने तर हुम्लाका स्थानीयहरुले आर्थिक कमाई कै लागि राजपुरसम्म बोकेर बिक्री गर्ने गरेका हुन ।
लाम्पाटा च्याँ चौरबाट संकलन गरेर ल्याएको कटुटी र अतिस गाउँमा सुकाएर पन्द्र दिन बोकेर राजपुर पुर्याएर बिक्री गरेको खार्पुनाथ गाउँपालिका– ३ को राया गाउँका हिरु बुढाले बताए । त्यसबेला सोही वडाको कारङ्ग गाउँका डब्ल्या सिंहले एक क्वीनटल तीस केजी बोकेर राजपुर पुर्याएपछि ब्यापारीबाट पुरस्कार पाएको घटना उनका लागि ताजै रहेको छ ।
त्यतिबेला राजपुरमा जडिबुटीको एक धार्नी ( साँढे दुई केजीको ) दुई रुपियाँ मुल्य पाउने गथ्र्यो । धेरै हुम्लावासीले त्यसरी नै जडिबुटी बिक्री गर्ने उनको भनाई छ । यो घटना २०२२ साल तिरको हो ।
त्यतिबेला हालको खार्पुनाथ गाउँपालिका २ र ३ का थाली र राया गाउँका स्थानीयले यो काम गर्ने गर्थे । त्यतिबेला गाउँ पञ्चायत राया थियो । अधिकाँस जडिबुटी बोकेर लग्ने हुम्लावासीले तीन देखि चालीस रुपियाँ मुल्य पाउने गर्थे ।
त्यो नै घरको सामान किनेर ल्याउनका लागि काफी हुने रायाँ गाउँका अर्का स्थानीय धौले बुढाले बताए । त्यतिबेला यी जडिबुटीहरु हुम्लाका स्थानीयले बिना रोकटोक र कसै अवरोध विनै राजपुरा पुग्ने गरेको उनले बताए । यसका लागि एक महिना समय लाग्ने गथ्र्यो ।
त्यतिबेला हालको बाजुराको गुम्बा गाउँमा वसोवास समेत नभएको उनले बताए । उक्त बनमा हुम्लावासीले एक लौटी रुपमा उपभोग र चरिचरन गरेको धेरै अगाडी देखि भएको स्थानीयको भनाई छ ।
























