चंङ्खेली गाउँपालिका पुर्ण खोप सुनिश्चित तथा दिगोपना घोषित

फोटो क्याप्सन: स्वास्थ्यकर्मीहरुलाई कार्यक्रममा कदर पत्र प्रदान गर्दे अध्यक्ष शाही ।

सि.टा. समाचारदाता
सिमकोट । चङ्खेली गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ । आइतबार गाउँपालिका केन्द्र पिप्लाङस्थित रामशाह आधारभूत विद्यालयको सभाहलमा आयोजित एक कार्यक्रमको आयोजना गरि यो कार्यक्रम गरिएको हो ।

गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले एक कार्यक्रम मार्फत गाउँपालिकालाई घोषित गरेका हुन ।

कार्यक्रममा स्वास्थ्य शाखा संयोजक सुरबिर शाहीले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना सम्बन्धी बिबरण प्रस्तुत गर्दै गाउँपालिकाभित्रका सवै वडाका स्वास्थ्य संस्थामार्फत नियमित खोप कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुँदै आएको बताए ।

उनका अनुसार गाउँपालिकामा लक्षित वर्गका बालबालिका १६ देखि ५९ महिनासम्मका १४७ जना बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसारका सम्पूर्ण खोप प्राप्त गरेपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गाउँपालिकाको स्वास्थ्य क्षेत्रको महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो ।

उहाँले बालबालिकाको जीवन रक्षा तथा स्वस्थ भविष्य निर्माणका लागि खोप सबैभन्दा प्रभावकारी र भरपर्दो माध्यम भएको उल्लेख गर्दै कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित हुन नदिने गरी गाउँपालिकाले आवश्यक स्रोत र साधन व्यवस्थापन गर्दै आएको बताए ।

प्राप्त उपलब्धिलाई दिगो बनाउन जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा अभिभावकको निरन्तर सहकार्य आवश्यक रहेको उनको भनाइ थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रेमकला शाहीले पूर्ण खोप सुनिश्चितता घोषणा स्वास्थ्य क्षेत्रको मात्र नभई समग्र गाउँपालिकाको साझा उपलब्धि भएको बताई ।

गाउँपालिका भित्रका सवै लक्षित वर्गका बालबालिकाहरुलाई यो कार्यक्रमबाट समेट्न र यसलाई दिगो बनाई राख्नका लागि सहभागीहरुले प्रतिबद्धता पत्रमा हस्ताक्षर पनि गरिएको थियो ।

कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, स्वयम सेविका लगाएतको उपस्थिती रहेको थियो । अब यो सहित जिल्लाका चार वटा गाउँपालिका खार्पुनाथ, नाम्खा सिमकोट घोषित भएका छन । अव तीन वटा गाउँपालिका अझै बाँकी रहेका छन् ।