चाला बस्तीका महिलालाई पहिलो पटक कानूनी सचेतना

फोटो क्याप्सन चाला गाउँमा आयोजित कानूनी सचेतना कार्यक्रममा सहजिकरण गर्नु हुँदै अधिबक्ता चन्द ।

सि.टा. समाचारदाता
सिमकोटा ।        उत्तरी नाम्खा गाउँपालिका– ४ को चाला वस्तीका महिलाहरुका लागि कानूनी सचतना कार्यक्रम पहिलो पटक आयोजना गरिएको छ ।

सबै खाले हिंसा बिरुद्ध कानूनी ब्यवस्था, महिला अधिकार, अन्य बिकृती बिसंङ्गती बारे दुरदराजका महिलाहरुलाई जानकारी गराउनका लागि यो कार्यक्रम आयोजना गरिएको हो ।

यस्ता कार्यक्रम कहिल्यै पनि सञ्चालन नगरिएको चाला गाउँका महिलाहरुका लागि कानूनी सचेतना कार्यक्रम आयोजना गरेर कानून बारे जानकारी गराउने कार्य भएको कानूनी सहायता अधिकारी राजन चन्दले बताईन ।

महिला हिंसा, बालबिबाह, बहुबिबाह, छाउ प्रथा, बहुपति प्रथा, घरेलु हिंसा लगाएतका कार्य अपराध भएको र त्यस्ता कार्यबाट महिलालाई मुक्ती दिने उपाय, कानूनी ब्यवस्थाका बारेमा जानकारी दिने कार्य भएको होे ।

यी कुराको बारेमा कहिल्यै जानकारी समेत नपाएकी चाला गाउँका महिलाहरुले यो सचेतना कार्यक्रमबाट थोरै भएपनि जानकारी पाउन सफल भएको उनको भनाई छ । त्यो संगै महिला अधिकार, मानव अधिकारका बारेमा पनि संक्षिप्तमा जानकारी गराउने कार्य भएको थियो ।

त्यसैगरि बिभिन्न खाले हिंसाका बिरुद्ध सरकारले लागु गरेका ऐन कानूनको बारेमा पनि जानकारी गराउने कार्य भएको थियो । महिलाहरुले पिडित हुन परे त्यस बिरुद्ध पनि कानूनी उपचारमा जान सकिने ब्यवस्थाका बारेमा पनि जानकारी गराउने कार्य भयको थियो ।

कार्यक्रममा सहभागी महिलाहरुले आफ्ना जिज्ञासा पनि राखेका थिए । हालसम्म सडक नजोडिएको कारण सो कार्यक्रमका सहभागिता जनाउन कानूनी सहायता अधिकारी चन्द एक दिन पैदल हिडेर चाला गाउँमा पुगेका थिए ।

बयालीस घरधुरी रहेको चाला गाउँका चालीस जना महिलाहरुको कार्यक्रममा सहभागिता रहेको थियो । कार्यक्रम नाम्खा गाउँपालिकाको कार्यालयले आयोजना गरेको हो । पछिल्लो समय महिलाहरुलाई यस्ता कार्यक्रमको अति आवश्यक पनि देखिएको छ ।