विश्वकपको नकआउट समीकरण स्पष्ट हुँदै, कुन टोलीलाई चाहिन्छ कस्तो नतिजा ?

सिमकोट । समूह चरणका अन्तिम खेलहरू सुरु भएसँगै जुलाई १९ मा हुने विश्वकप फाइनलसम्मको यात्रा विस्तारै स्पष्ट बन्दै गएको छ। पहिलो पटक ४८ टोली सहभागी भएको विश्वकपमा ३२ टोलीले नकआउट चरणमा स्थान बनाउने व्यवस्था गरिएकाले अन्तिम समीकरण निकै रोचक बनेको छ।

प्रतियोगिताका १२ समूहका शीर्ष दुई टोली स्वतः अन्तिम ३२ मा पुग्नेछन् भने बाँकी आठ स्थान तेस्रो स्थानमा रहने उत्कृष्ट आठ टोलीले प्राप्त गर्नेछन्। टोलीहरू समान अंकमा रहेमा आपसी भेटको नतिजा, गोल अन्तर, गरेको गोल संख्या, अनुशासन सूचकाङ्क तथा फिफा वरीयताको आधारमा स्थान निर्धारण गरिनेछ।

अहिलेसम्म सहआयोजक मेक्सिको, स्वीट्जरल्यान्ड, ब्राजिल, संयुक्त राज्य अमेरिका, जर्मनी, अर्जेन्टिना, कोलम्बिया, फ्रान्स र नर्वेले नकआउट चरणमा स्थान सुरक्षित गरिसकेका छन्। दक्षिण अफ्रिकाले पहिलो पटक विश्वकपको नकआउट चरणमा प्रवेश गर्दै इतिहास रचेको छ।

समूह ‘ए’ मा मेक्सिको शतप्रतिशत नतिजासहित विजेता बनेको छ भने दक्षिण अफ्रिका उपविजेताका रूपमा अगाडि बढेको छ। समूह ‘बी’ मा स्वीट्जरल्यान्ड शीर्ष स्थानमा रहँदा क्यानडा दोस्रो र बोस्निया–हर्जगोभिना उत्कृष्ट तेस्रो टोलीमध्ये एक बन्ने निश्चित भएको छ।

समूह ‘सी’ मा ब्राजिल र मोरक्कोले अन्तिम ३२ मा स्थान बनाएका छन् भने स्कटल्यान्डको सम्भावना उत्कृष्ट तेस्रो टोलीको रूपमा बाँकी छ। समूह ‘डी’ मा अमेरिका विजेता बनेको छ भने अस्ट्रेलिया र पाराग्वेबीच दोस्रो स्थानका लागि प्रतिस्पर्धा जारी छ।

जर्मनीले समूह ‘ई’ को शीर्ष स्थान सुरक्षित गरिसकेको छ भने आइभरी कोस्ट, इक्वेडर र कुरासाओबीच दोस्रो स्थानको प्रतिस्पर्धा कायम छ। समूह ‘एफ’ मा नेदरल्यान्ड्सले शीर्ष दुई स्थान सुरक्षित गरिसकेको छ भने जापान, स्वीडेन र नेदरल्यान्ड्सबीच अन्तिम स्थान निर्धारणको लडाइँ जारी छ।
समूह ‘जी’ मा इजिप्ट, इरान र बेल्जियमबीच नकआउटको दौड रोमाञ्चक बनेको छ। समूह ‘एच’ मा स्पेन, उरुग्वे, केप भर्डे र साउदी अरेबियासमेत अझै प्रतिस्पर्धामा छन्।
फ्रान्स र नर्वेले समूह ‘आई’ बाट नकआउट चरणमा स्थान बनाइसकेका छन् भने समूह ‘जे’ मा अर्जेन्टिना विजेता बनेको छ। अस्ट्रिया र अल्जेरियाबीच दोस्रो स्थानको निर्णायक भिडन्त हुने भएको छ।

समूह ‘के’ मा कोलम्बियाले शीर्ष दुई स्थान सुरक्षित गरिसकेको छ भने पोर्चुगल, डीआर कंगो र उज्बेकिस्तानको सम्भावना कायम छ। समूह ‘एल’ मा इङ्ग्ल्यान्ड र घानाबीच शीर्ष स्थानको प्रतिस्पर्धा चलिरहँदा क्रोएसियाले पनि नकआउट चरणमा पुग्ने आशा जीवित राखेको छ।

समूह चरणका अन्तिम खेलसँगै उत्कृष्ट तेस्रो टोलीको समीकरण स्पष्ट हुने र त्यसपछि अन्तिम ३२ को खेल तालिका सार्वजनिक हुनेछ। नयाँ ढाँचामा आयोजना भइरहेको यस विश्वकपमा नकआउट चरणको प्रतिस्पर्धा थप रोमाञ्चक र अप्रत्याशित हुने अपेक्षा गरिएको छ।