
सि.टा. समाचारदाता
सिमकोट । स्वास्थ्य सेवा कार्यालय हुम्लाले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन भएका स्वास्थ्य कार्यक्रम तथा गतिविधिको समीक्षा गर्दै आगामी योजना निर्माणका लागि आयोजित दुईदिने जिल्ला स्तरीय समीक्षा तथा कार्ययोजना तर्जुमा गोष्ठी सम्पन्न गरेको छ।
कार्यक्रममा स्वास्थ्य सेवा कार्यालय हुम्लाले आर्थिक वर्ष २०८२/८३ मा प्रदान गरिएका विभिन्न स्वास्थ्य सेवा, सफल शल्यक्रिया, ल्याब सेवा, सरुवा तथा नसर्ने रोग नियन्त्रणका कार्यक्रम र जिल्लामा स्वास्थ्य क्षेत्रमा देखिएका चुनौती तथा उपलब्धिबारे विस्तृत प्रस्तुतीकरण गरेको थियो।
कार्यालयका प्रमुख डा. उमाकान्त तिवारीले जिल्लावासीलाई सहज र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न कार्यालयले विभिन्न कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो।
सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले समीक्षा कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयदेखि सातवटै स्थानीय तहमा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार आएको बताउँदै स्वास्थ्यकर्मीहरूलाई अझै गम्भीरतापूर्वक सेवा प्रवाहमा लाग्न आग्रह गर्नुभयो।
उहाँले हुम्लामै जटिल प्रकृतिका बिरामीको सफल शल्यक्रिया हुनु तथा निम्न वर्गीय नागरिकले समेत सहज रूपमा स्वास्थ्य सेवा पाउनु सकारात्मक पक्ष भएको उल्लेख गर्दै स्वास्थ्य सेवा कार्यालय हुम्लालाई धन्यवाद व्यक्त गर्नुभयो। साथै आगामी आर्थिक वर्ष २०८३/८४ मा स्वास्थ्य क्षेत्रले अझ बढी प्रगति गर्दै जिल्लाका नागरिकले सहज र गुणस्तरीय सेवा पाउने विश्वास व्यक्त गर्नुभयो।
त्यसैगरी, जिल्ला समन्वय समिति हुम्लाका प्रमुख शिवराज शर्माले स्वास्थ्य सेवाले गरेका कामप्रति प्रशंसा व्यक्त गर्दै स्वास्थ्य क्षेत्रमा दिनप्रतिदिन सुधार हुँदै गएको बताउनुभयो। विगतका वर्षको तुलनामा अहिले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय परिवर्तन आएको उल्लेख गर्दै उहाँले आगामी दिनमा अझ बढी सुधार र प्रगतिको शुभकामना व्यक्त गर्नुभयो।
जिल्ला समन्वय समितिको सभाहलमा आयोजित दुईदिने कार्ययोजना निर्माणसम्बन्धी गोष्ठी स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डा. उमाकान्त तिवारीको अध्यक्षता तथा जिल्ला समन्वय समिति हुम्लाका प्रमुख शिवराज शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
कार्यक्रममा सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, स्वास्थ्य सेवा कार्यालय हुम्लाका अध्यक्ष दीपक भण्डारी, विभिन्न स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।






















