सि.टा. समाचारदाता
सिमकोट । जिल्लाभरबाट मुख्यमन्त्री उत्कृष्ट किसान कार्यक्रमबाट तीन जना पुरस्कृत हुनु भएको छ । कृषितर्फ काम गर्ने फर्म, ब्यक्तिगत र समुहगत रुपमा गरिएको अनुमगनका आधारमा तीन जना किसानहरु पुरस्कृत गरिएका हुन ।
कृषि बिकास कार्यालयका प्रमुख चुडामणी पोखरेलका अनुसार तीन जना पुरस्कृत हुने मुख्यमन्त्री उत्कृष्ट किसानहरुमा सर्केगार्ड गाउँपालिकाका – ५ को ईशा कृषि, पशुपालन तथा मत्स्यपालन फर्मका धर्मजन शाही प्रथम हुनु भएको छ भने सिमकोट गाउँपालिका– ५ को दिक्पाल तरकारी तथा उन्नत गाई पालन र्फका धर्मराज रोकाया द्धितीया र सिमकोट गाउँपालिका– २ का बाग्जुर चिया तथा फलफुल नर्सरी फर्मका उजिर बोहरा तृतीया हुनु भएको छ ।
पुरस्कृत तीन जनालाई प्रथम, द्धितीया र तृतीयालाई क्रमश तीस हजार, पच्चीस हजार र बीस हजार नगद पुरस्कार सहित सम्मानपत्र प्रदान गरिएको छ ।
उत्कृष्ट किसान तथा फर्म छनौटका आधारहरुमा कृषकको फर्म अवलोकन, नविनतम कृषि अभ्यास, कार्यालयसंगको प्राविधिक सरसल्लाह, विगतका वर्षका कार्यालयबाट पुरस्कार नपाएको रहेका छन ।
आफ्नो फर्म पुरस्कृत भएपछि किसान धर्मराज रोकायाले काम गर्न अझै प्रेरणा मिलेको बताए । काम गरेपछि मुल्याङ्कन हुने परिपाटीको बिकासले किसानलाई काम गर्न थप हौसला मिल्न सघाउ पुग्ने पुरस्कृत किसानको भनाई छ । उत्कृष्ट किसानलाई जिल्ला समन्वय समितिका प्रमुख शिबराज शर्माले पुरस्कार प्रदान गरेका थिए ।























