पशु अस्पताल तथा पशु सेवा कार्यालयको वजेट खर्च ५७ प्रतिशत मात्र

सि.टा. समाचारदाता
सिमकोट । आर्थिक वर्ष ०८२।०८३ मा पशु अस्पताल तथा पशु सेवा कार्यालयको वजेट खर्च न्यून भएको छ । कार्यक्रम सञ्चालन सम्वन्धि मापदण्ड अनुसार सेवाग्राहीहरुले प्रस्तावना पेश गर्न नसकेपछि बिशेष महत्य दिएका कार्यक्रम सञ्चालन गर्न नसकिएपछि बजेट खर्च न्यून देखिएको हो ।
उक्त आवमा कार्यालयको वित्तिय प्रगति ५७ दशमलव ९० प्रतिशत रहेको छ ।

कुल बजेट चार करोड ७३ लाख ४३ हजार रहेको थियो । त्यसमा पुँजीगततर्फ चालीस लाख बजेट विनीयोजित भएकोमा ३९ लाख ९९ हजार खर्च भएर झण्र्ड सतप्रतिशत वजेट खर्च भएको छ ।

त्यसैगरि चालुतर्फ चार करोड ३३ लाख ४३ हजार वजेट विनीयोजित भएकोमा दुई करोड ७४ लाख १३ हजार मात्र खर्च भएको छ । यसमा सिंगै एक करोढ ५५ लाख का पशुपन्छी श्रोत केन्द्र सम्वन्धि कार्यक्रमको वजेट फिर्ता गएको छ ।

कार्यालयका अनुसार कार्यक्रम सञ्चालन सम्वन्धि मापदण्ड अनुसार सेवाग्राहीले प्रस्तावना पेश गर्न नसकेको कारण कार्यक्रम गर्न नसकिएको हो । कार्यक्रममा सेवाग्राहीले प्रस्तावना पेश गरेको भएता पनि कार्यक्रम सञ्चालन सम्बन्धी मापदण्ड कसैको पनि नपुगेको कारण कार्यक्रम गर्न नसकिएको हो ।

यो स्रोत केन्द्रको कार्यक्रम धेरै महत्वपूर्ण भएको हुनाले आगामी आ.व. मा कार्यविधि र मापदण्डलाई केही संशोधन गरी यो कार्यक्रमलाई निरन्तरता दिई कार्यन्वयनमा लाग्नु आवश्यक देखिएको छ । त्यसैगरि अन्य कार्यक्रममा पनि पुर्ण रुपमा खर्च हुन सकेको देखिदैन । संभवत जिल्ला मै सवै भन्दा कम खर्च गर्ने कार्यक्रममा सो कार्यालय पर्छ ।