सि.टा. समाचारदाता
सिमकोट । खार्पुनाथ गाउँपालिकामा लागु भएको सुरक्षित नागरिक आवास कार्यक्रमबाट सेवाग्राही लावान्भित हुनु भएको छ । सम्बृद्ध खार्पुनाथ र सुखी नागरिक भन्ने नारालाई सार्थक बनाउनका लागि गाउँपालिकाको बिशेष पहलमा भित्रिएको यो कार्यक्रमबाट सेवाग्राही छनौट कार्यबिधि अनुसार छानिएकालाई सुरक्षित आवासका लागि जस्तापाता प्रदान गरिएको हो ।
माटोका छाना विस्थापित गर्ने लक्ष्य सहित खार्पुनाथ गाउँपालिककाका पाँच वटै वडामा लागु भएको सुरक्षित नागरिक आवास कार्यक्रमबाट चालु आर्थिक वर्षमा चार हजार ४९५ वटा जस्तापाता बितरण कार्य भएको वडा नम्बर ५ को वडा अध्यक्ष एवं गाउँपालिकाका प्रबक्ता भरतजंग शाहीले बताए ।
कार्यक्रमबाट लावान्भित वर्ग छनौटका लागि कार्यबिधि निर्माण गरेर छनौट गरिएको हो । छनौट भएका घरधुरीले आफ्नो घरको माटोको छानो बिस्थापित गर्नका लागि आवश्यक अन्य संरचना निर्माण गरेको अवस्था बारे प्राविधिक स्थलगत रुपमा जाने र प्राविधिककै स्थलगत अध्ययनको सिफारिस वमोजिम जस्तापाता बितरण गर्ने गरिएको छ ।
चालु आर्थिक वर्षमा १७२ घरधुरीलाई अठारदेखि पच्चीस वटासम्म जस्तापाता निशुल्क बितरण गरिएको हो । यस कार्यक्रममार्फत विपन्न तथा लक्षित घरपरिवारलाई सुरक्षित, व्यवस्थित र सम्मानजनक बाँचनका लागि आवास निर्माणमा सहयोग पुग्ने विश्वास गरिएको गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले बताए ।
संङ्घ सरकारको आर्थिक सहयोगमा यो कार्यक्रम गाउँपालिकामा सञ्चालन भएको र यसबाट सेवाग्राहीले सुरक्षित घरमा वस्न पाउने बाताबरण तयार भएकोे छ । खार्पुनाथ गाउँपालिका स्थानीयको सुरक्षित आवास, समुन्नत जीवनस्तर र दिगो विकासप्रति सदैव प्रतिबद्ध गाउँपालिका रहेको र यसका लागि सहयोग गर्न स्थानीयले आवश्यक छ ।
कार्यक्रम अन्तर्गत वडा नं. १ का ३२, ५ का ६९, २ मा १२, ३ मा २४ र ४ मा ३५ घरपरिवारलाई जस्तापाता वितरण गरिएको छ । अव पाँच घरधुरीका लागि जस्तापाता बाँकी रहेको र त्यो पनि चाँडै बितरण गरिनेछ । जस्तापाता खरिद र ढुवानीका लागि ६८ लाख वजेट संघीय सरकारबाट अनुदान आएको थियो ।
सुरक्षित घर निर्माणको आफुले गर्ने काम पुरा गरि प्राविधिकको सिफारिस बमोजि जस्तापाता पाएका सेवाग्राहीले अव वर्खामा घर चुहिने र हिउदमा छतमा जमेको हिउ फाल्नु पर्ने बाध्यताबाट छुटकारा मिलेको बताएका छन । न्यून आयश्रोत भएका र आफैले घरको जस्तापाता छाउन नसक्ने सेवाग्राहीका लागि निक्कै उपयोगी र प्रभावकारी कार्यक्रमले सहज बनाएको छ । यस कार्यक्रमबाट अधिकाँस दलित र न्यून आयश्रोत भएका सेवाग्राही छनौट भएका थिए ।























