सि.टा. समाचारदाता
सिमकोट । पशु अस्पताल तथा पशु बिकास कार्यालयबाट आर्थिक वर्ष ०८२।०८३ का लागि पशुपन्छी श्रोत केन्द्रका लागि विनीयोजित वजेट फिर्ता गएको छ । यो कार्यक्रम सञ्चालन सम्वन्धि मापदण्डलाई सेवाग्राहीहरुले पुरा गर्न नसकेपछि कार्यक्रम सञ्चालन गर्न नसकिदा विनीयोजित बजेट फिर्ता गएको हो ।
उक्त आर्थिक वर्षमा हुम्ला जिल्लाका लागि बिशेष प्राथमिकतामा राखेर सञ्चालन गर्न खोजिएको पशुपन्छी श्रोत केन्द्र अन्र्तगत चौरी र च्याङ्ग्रा पालनका लागि विनीयोजित बजेट फिर्ता गएको कार्यालय प्रमुख पशु चिकीत्सक नविन पौडेलले बताए ।
यसका लागि मन्त्रालयले तय गरेको सञ्चालन मापदण्ड अनुसार कुनै पनि सेवाग्राहीले प्रस्तावना पुर्याउन नसकेपछि कार्यक्रम सञ्चालन गर्न नसकिएको र त्यसपछि वजेट नै फिर्ता गएको हो । यी कार्यक्रम सञ्चालनका लागि एक करोड ५५ लाख वजेट विनीयोजित भएको थियो ।
कार्यक्रम सञ्चालनका लागि कार्यालयले प्रस्तावना आव्हान पनि गरेको तर कनै पनि पक्षबाट मापदण्ड अनुसारको प्रस्ताव नआएपछि कार्यक्रम नै अगाडी बढ्न सकेन ।
यसका लागि सो कार्यक्रम सञ्चालन गर्नका लागि तय गरिएको नौ बुँदे मापदण्ड मध्य त्यसको बुँदा नम्बर ( ख ) मा ब्यवस्था भएको न्यूनतम पुर्वाधारहरु (उमेर, जात लिंग, क्वारेन्टाईन, स्वास्थ्य अनुरुप फरकफरक गोठ ब्यवस्थापन, दानापानी ब्यवस्थापन, चरन ब्यवस्थापन, मलमुत्र ब्यवस्थापन, जैविक सुरक्षाको ब्यवस्था, औषधी उपचारको ब्यवस्थापन) हुनु पर्ने र बुँधा नम्बर (ङ) मा भएको भएको ब्यवस्थामा श्रोत केन्द्रले पशुपन्छीको रेकर्ड ब्यवस्थापन र पिग्रीनसिट अनिवार्य बनाउनु पर्ने रहेको थियो । यी दुवै मापदण्ड पुरा गर्ने गरि कुनै पनि सेवाग्राहीबाट प्रस्तावना नआएको कारण कार्यक्रम अगाडी नबढेको हो ।
यसमा पचास लाख वजेट च्याङ्ग्रा पालनका लागि खर्च गर्न सकिने, २५ लाखको चौरी पालनका लागि नाम्खा र सिमकोट गाउँपालिका– १ को दोजमका लागि कार्यक्रम सञ्चालन गर्न सकिने ब्यवस्था थियो । बाँकी भने जिल्ला भरि कै सेवाग्राहीहरुले पशुपन्छी श्रोत केन्द्र सञ्चालनका लागि प्रस्तावना पेश गर्न पाउने गरि सुचना सार्वजनिक भएको थियो ।
यो कार्यक्रम सञ्चालन गरेर चौरी र च्याङ्ग पालन ब्यवसाय फष्टाउने लक्ष्य रहेकोमा त्या पुरा हुन सकेन । यति महत्वपुर्ण कार्यक्रम सञ्चालन गर्नका लागि आगमी दिनमा मापदण्ड परिमार्जन गर्न आवश्यक देखिएको छ ।























