सि.टा. समाचारदाता
सिमकोट । सरकारसँग पाँच बुँदे सहमतिपछि नेपाल चिकित्सक संघले गरिरहेको आन्दोलन स्थगित भएको छ . नारायणी अस्पताल वीरगञ्जमा बिरामीको मृत्यु भएपछि चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको कुटपिट र दुव्र्यवहारको घटनालाई लिएर देशभरका चिकित्सक आन्दोलित भएका थिए।
बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा सरकारी प्रतिनिधि र नेपाल चिकित्सक संघका पदाधिकारीबीच भएको ५ बुँदे सहमतिपछि संघले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिइ सेवा सुचारु गर्ने निर्णय गरेको हो। सहमतिमा स्वास्थ्यकर्मीमाथि कुटपिट तथा दुव्र्यवहार गर्ने व्यक्तिहरूलाई गृह मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ बमोजिम थप कारबाही अगाडि बढाउनेछ।
यसैगरी, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यकर्मी सुरक्षा ऐनका दफा २, ३ र १५ तथा मुलुकी अपराध संहिता २०७४ का दफा २३२ र २३३ मा आवश्यक संशोधन गर्न आगामी प्रतिनिधिसभाको अधिवेशनमा विधेयक पेश गर्ने प्रक्रिया तत्काल अघि बढाउने सहमति भएको छ।
यस कार्यमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आवश्यक सहजीकरण गर्नेछ सहमति पत्रमा उल्लेख छ।
त्यस्तै, उपभोक्ता संरक्षण ऐन २०७५ मा स्वास्थ्य सम्बन्धी विषयमा आवश्यक संशोधन गर्न स्वास्थ्य मन्त्रालयले चिकित्सक संघको समेत सहभागितामा सात दिनभित्र कार्यदल गठन गर्नेछ।
विगतमा मन्त्रालयहरू र नेपाल चिकित्सक संघबीच भएका सम्झौताहरूको कार्यान्वयन गर्न पनि तीन दिनभित्र अर्को कार्यदल गठन गरिने सहमति भएको छ।
























