१८ वर्षभन्दा माथिका स्नातक युवायुवतीका लागि दुईदिने उद्यम विकास तालिम सम्पन्न

फाेटाे क्याप्सन : दुईदिने उद्यम विकास तालिम सम्पन्न भएपछि सहभागी युवायुवती तथा आयोजक संस्थाका प्रतिनिधिहरू सामूहिक तस्बिरमा।

ऐटन रावल
सिमकोट, साउन २१।        गुड नेबर्स इन्टरनेशनल नेपाल (GNI Nepal) ले आफ्नो स्थानीय साझेदार संस्था एसआईडीसी (SIDC) सँगको सहकार्यमा हुम्लाका १८ वर्ष उमेर पूरा गरेका १० जना स्नातक युवायुवतीका लागि सञ्चालन गरेको दुईदिने उद्यम विकास तालिम सफलतापूर्वक सम्पन्न गरेको छ।

संस्थाले साउन २७ र २८ गते सञ्चालन गरेको उक्त तालिम पछिल्लो समय विकट हुम्ला जिल्लामा विद्यालय शिक्षा बीचमै छोड्ने, सानै उमेरमा बालविवाह गर्ने तथा बेरोजगारीका कारण अवसरविहीन बनेका १८ वर्षभन्दा माथिका युवायुवतीलाई लक्षित गरी आयोजना गरिएको जानकारी दिएको छ।

तालिममा सहभागी स्नातक युवायुवतीलाई स्वरोजगार तथा उद्यमशीलतामार्फत आत्मनिर्भर बन्न आवश्यक ज्ञान, सीप र आत्मविश्वास विकास गर्ने विषयमा सहजीकरण तथा छलफल गरिएको थियो। साथै सफल उद्यमी बन्न आवश्यक सोच, योजना र व्यवहारिक पक्षबारे समेत प्रशिक्षण प्रदान गरिएको थियो।

कार्यक्रमका क्रममा सहभागीहरूलाई उद्यमशीलता, व्यवसाय छनोट, व्यवसाय योजना निर्माण, वित्तीय व्यवस्थापन, बजार व्यवस्थापन, ग्राहक सेवा तथा साना व्यवसाय सञ्चालनका विभिन्न पक्षबारे विस्तृत सहजीकरण गरिएको थियो। सफल उद्यमी तथा स्वरोजगार व्यवसायी बन्न आवश्यक ज्ञान, सीप र अनुभवका विषयमा अन्तरक्रियात्मक छलफलसमेत गरिएको थियो।

स्थानीय स्रोत, सम्भावना र बजारको आवश्यकतालाई मध्यनजर गर्दै व्यवसाय स्थापना तथा सञ्चालन गर्न सकिने भएकाले सहभागी युवायुवतीलाई व्यवसाय सुरु गर्नु अघि सम्बन्धित क्षेत्रको अध्ययन, योजना निर्माण र बजार विश्लेषण गर्न प्रेरित गरिएको थियो।

तालिमबाट प्राप्त ज्ञान, सीप र क्षमतालाई व्यवहारमा निरन्तर लागू गर्न सके आत्मनिर्भर बन्नुका साथै सफल उद्यमीका रूपमा स्थापित हुन सकिने विषयमा समेत सहभागीहरूलाई सचेत गराइएको थियो।

यस उद्यम विकास तालिमले युवायुवतीका लागि दिगो आयआर्जनका अवसर सिर्जना गर्दै आर्थिक रूपमा सक्षम, आत्मनिर्भर तथा जिम्मेवार व्यवसायी नागरिक बन्न सहयोग पुग्ने विश्वास आयोजकले व्यक्त गरेको छ।

गुड नेबर्स इन्टरनेशनल नेपाल र एसआईडीसीले आगामी दिनमा पनि युवाहरूको जीविकोपार्जन तथा उद्यमशीलता विकासका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

कार्यक्रम सिमकाेट माथिल्लो बजार मा रहेकाे एसआईडीसीकाे हालमा सञ्चालन भएकाे थियोे ।

गुड नेबर्स इन्टरनेशनल नेपालले हुम्ला जिल्लामा बालविवाह न्यूनीकरण, घरेलु हिंसा नियन्त्रण, बालश्रम अन्त्य, बालशोषण न्यूनीकरण, बालअधिकार तथा बालसंरक्षणका क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ।

संस्थाले यिनै विषयमा सडक नाटक, देउडा प्रतियोगिता, वक्तृत्वकला तथा चित्रकला प्रदर्शनलगायत विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै गाउँदेखि सहरसम्म सकारात्मक सामाजिक परिवर्तन ल्याउने उद्देश्यका साथ निरन्तर काम गर्दै आएको छ।