हुम्लामा एक प्रतिशतले कोदो उत्पादनमा बृद्धि

 

सि.टा. समाचारदाता

सिमकोट । समाजमा कुअन्नका रुपमा परिभाषित गरिएको कोदो खेतीबाट हिमाली जिल्ला हुम्लामा किसानहरुले उत्पादनमा एक प्रतिशत बृद्धि गरेका छन् । यसको महत्व बुझ्दै जानु र स्थानीय रैथाने बालीका रुपमा यसको बजारमा बिक्री समेत हुन थाल्दा प्रत्यक्ष रुपमा आम्दानी हुने भएपछि किसानहरु कोदो खेतीमा आर्कषित हुन थाल्दा उत्पादनमा बृद्धि भएको हो ।

स्थानीय रैथाने वालीका रुपमा समेत परिचय बनाउन सुरु गरेको कोदो खेतीबाट उत्पादनमा समेत बृद्धि सुरु भएको सर्केगार्ड गाउँपालिका– ३ को उनापानीका किसान काली फडेराले बताए ।

आफ्नो गाउँमा मुख्य वालीका रुपमा मानिने कोदो बालीलाई पछिल्ला वर्षमा खेतीमा कमी आएको भएपनि एक वर्षयता कोदो बिक्री समेत हुन थालेपछि किसानहरु बढी परिश्रम गर्न थालेपछि उत्पादनमा बृद्धि भएको उनको भनाई छ ।

कोदोको महत्व बुझ्दै जानु, खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमीटेड र ब्यक्तिगत रुपमा कोदो खरिद गरेर जिल्ला बाहिर लिन थालिदा यसको बिक्रीबाट प्रत्यक्ष रुपमा आम्दानी हुन थालेपछि किसानहरु कोदो खेतीमा बढी परिश्रम गर्न थालेपछि उत्पादनमा बृद्धि भएको हो ।

स्थानीय स्तरमा कोदोका उपभोग गर्न छोडेपछि उत्पादनमा समेत राह्रास आएको बेला कोदोको महत्व, फाईदा र आम्दान हुन थालेपछि किसान कोदो खेतीमा आर्कषित समेत भई रहेका छन् । एक वर्षमा एक दशमलव चौध प्रतिशत कोदो उत्पादन बृद्धि भएको बताउदै कृषि बिकास कार्यालयका प्रमुख चुडामणी पन्तले यसवर्ष त्यसमा अझै बृद्धि हुने बताए ।

जिल्लाका सात वटै गाउँपालिकामा कोदो खेती हुने र कुल खेती योग्य जमिनको एक हजार ६२ हेक्टर जग्गामा कोदो खेती भई रहेको र यसवाट एक हजार १२५ मेट्रिकटन कोदो उत्पादन हुने गरेको उहाँले बताउनुभयो । उत्पादनमा कमी आई रहेको बेला यसका महत्वका बारेमा किसानलाई जानकारी गराउने कार्य भएपछि किसानले कोदो खेती प्रति ध्यान दिदा उत्पादनमा बृद्धि हुन थालेको भनाई उहाँको छ ।

आठ जातका कोदोमा हुम्ला जिल्लामा डल्ले र ओखले कोदो खेती गर्ने गरिन्छ । जिल्लामा कोदो प्रतिकेजी १०५ रुपियाँ मुल्य निर्धारण गरिएको छ ।