सि.टा. समाचारदाता
सिमकोट । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमीटेड हुम्ला शाखाले स्थापना दिवसको अवसरमा खाद्यन्न तथा शैक्षिक सामग्री वितरण गरेको छ । लिमीटेडको सातौं स्थापना दिवसको अवसरमा महिला फिडर छात्रावासमा बस्दै आएका छात्राहरुलाई सो सहयोग प्रदान गरिएको हो ।
लिमीटेडका कार्यालय प्रमुख कृष्ण थापामगर अनुसार फिडर छात्रावासमा वस्दै आएका छात्राहरुलाई स्थापना दिवसको अवसर पारेर खाद्यान्न र शैक्षिक सामाग्री प्रदान गरिएको छ ।
सामाजिक उत्तरदायित्व अन्तर्गत लिमीटेडले ती छात्राहरुको शैक्षिक गुणस्तर सुधारका लागि टेवा दिने उद्देश्यले सामग्री प्रदान गरिएको हो । कार्यालयका अनुसार छात्रावासमा रहेका छात्राहरुलाई ७५ केजी चामल, दश लिटर तेल र पाँच केजी चिनी प्रदान गरिएको छ ।
त्यसैगरि बीस वटा कापी, वीस वटा डड्पेन, एक एक वटा भलिवल र फुटवल पनि प्रदान गरिएको छ । ती सामग्री जिल समन्वय समितिका कार्यवाहक प्रमुख सरिता रावत र प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईले प्रदान गरेका थिए । छात्राहरु मानसरोवर माविमा अध्ययन गर्दै आएकी छन् ।
























