सि.टा. समाचारदाता
सिमकोट । सदरमुकाम सिमकोट आसपासका क्षेत्रहरुमा ढुङ्गा गिट्टी र बालुवा उत्खनन गर्न रोक लगाईएको छ । बर्खा लागेकोले जथाभावी ढुङ्गा गिट्टी र बालुवा निकालिदा बाढी पहिरो जाने संभावना भएकोले हाललाई ती वस्तु उत्खननमा रोक लगाईएको हो ।
सदरमुकाम रहेको सिमकोट गाउँपालिकाका बिभिन्न क्षेत्रहरुमा जथाभावी रुपमा ढुङ्गा, बालुवा र गिट्टीको उत्खनन गर्ने कार्य जारी राखेको पाईएकोले भदौ १ गतेबाट त्यसलाई रोक लगाउने कार्य गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर बुढाले बताए ।
देशभर मनसुनी वायु चली रहेको र हुम्ला जिल्लामा पनि बर्षा हुने क्रम जारी रहेकोले यो अवधीमा जथाभावी ढुङ्गा, गिट्टी र बालुवा निकाल्दा ती स्थानमा पहिरो गएर क्षेती हुने संभावना भएकोले ती सवै काम रोक्नु आवश्यक देखिएकाले गाउँपालिकाले रोक लगाउने कार्य गरेको छ ।
त्योसंगै गाउँपालिकाले यसमा बातावरण संरक्षण ऐन २०७६ को दफा ३ तथा बातावरण संरक्षण नियमावली २०७७ को नियम ३ को प्रयोजनार्थ तथा कर्णाली प्रदेश सरकारको नदी तथा खानीजन्य श्रोत उत्खनन, संङ्कलन तथा बिक्री बितरण गर्ने कार्यबिधि २०७९ को दफा ५ लार्य आधार मानेर मिति २०८३ भदौ १ गतेवाट लागु हुने गरि ढुङ्गा, गिट्टी र बालुवा सिमकोट गाउँपालिकाको सवै क्षेत्रभित्र उत्खनन गर्न रोक लगाईएको हो । यो सुचनालाई उलङ्घन गरेर कोही कसैले ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गरे कानून अनुसार कारवाही प्रकृया अगाडी बढाईने गाउँपालिकाले जनाएको छ ।
सिमकोट गाउँपालिकाका बिशेष गरि सिमकोटबाट खार्पुसम्मको सडक किनारा, सिमकोटबाट ठेहे हुँदो दोजामसम्मको सडक छेउमा, सिमकोटबाट हेक्पा खोलासम्मको सडक क्षेत्रमा स्थानीयले जथाभावी यसअघि ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गर्ने कार्य गर्दै आएका छन्। ऐन नियम तय गरेको भएपनि गाउँपालिकाले हालसम्म ढुङ्गा गिट्टीमा कर लगाउन पनि सकेको छैन ।
स्थानीयले जथाभावी रुपमा यी वस्तुहरु उत्खनन गरेर बिक्री बितरण गर्दै आएका छन् । यसमा प्रहरीले निगरानी राखेको भएपनि गाउँपालिकाले चासो नदिएको कारण कर असुली कार्य हालसम्म हुने नसकेको हो ।



















