मंगलबारदेखि नेपालका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना

हुम्ला । आगामी मंगलबारदेखि नेपालका धेरैजसो क्षेत्रमा वर्षा हुने सम्भावना रहेको छ। बंगालको खाडीबाट विकसित हुने न्यूनचापीय प्रणालीको प्रभावका कारण आगामी सातादेखि देशका विभिन्न स्थानमा वर्षा हुन सक्ने अनुमान गरिएको हो।

मौसमविद् विनोद पराजुलीका अनुसार हाल उपलब्ध विभिन्न मौसम पूर्वानुमान मोडेलहरूले आगामी मंगलबारदेखि एक साताभन्दा बढी समयसम्म नेपालका धेरै क्षेत्रमा वर्षा हुन सक्ने संकेत देखाएका छन्। उनका अनुसार केही स्थानमा भारी वर्षासमेत हुन सक्ने सम्भावना छ।

पराजुलीले चारवटा मौसम पूर्वानुमान मोडेलको औसत विश्लेषण सार्वजनिक गर्दै दशैँको टीका लगाउने तथा आफन्तसँग भेटघाट गर्ने कार्यक्रमलाई निरन्तरता दिए पनि आगामी साताको सम्भावित वर्षालाई ध्यानमा राखेर योजना बनाउन सुझाव दिएका छन्।

यद्यपि, विभिन्न मौसम पूर्वानुमान मोडेलहरूले वर्षा हुने स्थान र त्यसको परिमाणबारे फरक–फरक संकेत देखाएकाले कुन क्षेत्रमा कति वर्षा हुन्छ भन्ने विषयमा अहिले नै यकिन गर्न कठिन रहेको उनले बताएका छन्।

सम्भावित वर्षालाई ध्यानमा राख्दै यात्रा तथा अन्य गतिविधिको योजना बनाउँदा मौसम पूर्वानुमान र सम्बन्धित निकायले जारी गर्ने सूचनामा ध्यान दिनु उपयुक्त हुनेछ।