एक हप्ता पछि कर्णाली करिडोरको छारे भीरको सडक सुचारु

सि.टा. समाचारदाता
सिमकोट । कर्णाली करिडोरको हुम्ला खण्डको सर्केगाड गाउँपालिका–२ छारे भिरको सडकमा चट्टान खसेपछि एक हप्तापछि बन्द रहेको सडक सुचारु भएको छ । पहिरोसँगै खसेको ढुङ्गा फुटालेर पन्छाउको कार्य भएपछि शुक्रबार पौने तीन वजेबाट सुचारु भएको हो
पहिरोसंगै खसेको ठुलो चट्टान बकेट लगाएर फुटाउने कार्य भएपछि कर्णाली कोरिडोरको छोरे सडक सुचारु भएको हिल्सा सिमकोट सडक योजनाका प्रमुख बेलबहादुर नेपालीले बताए । सडक खुलेसंगै पुर्ण रुपमा यातायातका साधन आवतजावत सुरु भएको हो । अबरुद्ध सडक हिल्सा सिमकोट सडक योजनाले मेशिन लगाएपछि खोल्ने कार्य भएको प्रहरी नायव उपरिक्षक शंकर खड्काले बताए । बिहीबार सडक क्षेत्रमा खसेका ठुला ढुङ्गा फुटाउने कार्य भई सकेको समयमा बकेटमा समस्या आउदा मर्मत कार्य रोकिएको थियो । सडक खुलेपछि सर्केगार्डमा रोकिएका यातायातका साधन सिमकोट आउन सुरु भएको छ भने सिमकोटबाट जाने यातायातका साधन जान थालेका छन् । वर्षायाममा बाढी, पहिरो र ढुङ्गा खस्ने समस्याका कारण कर्णाली कोरिडोर पटकपटक अवरुद्ध हुँदै आएको छ । कोरिडोर अवरुद्ध हुँदा हुम्लाका स्थानीयको आवतजावतसँगै उपचार गर्ने बिरामी, खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीको ढुवानीसमेत हुन सकेको थिएन । सडकमा ढुङ्गा खसेको कारण यात्रुहरु भने भर्याङ लगाएर आउजाउ गर्दै आएका थिए ।