सि.टा. समाचारदाता
सिमकोट । मौसम विज्ञान बिभागले असोज ९ गतेदेखि ११ गतेसम्म नेपालमा भारी वर्षा हुने संभावना रहेको सुचना सार्वजनिक गरेसंगै जिल्ला प्रशासन कार्यालय हुम्लाले जिल्लवासीलाई सो अवधिमा सतर्कता अपनाउन आग्रह गरेको छ । प्रशासन कार्यालयले एक सार्वजनिक सुचना प्रकाशन गरेर उक्त अवधि सवैले आआफ्नो स्थानमा सचेत रहन र आफ्नो टोल छिमेकलाई पनि सचेत रहनका लागि जानकारी गराउन अनुरोध गरेको हो ।
असोज ९ गतेबाट ११ गतेसम्म भारी वर्षाको संभावना रहेको जानकारी मौसम विज्ञान बिभागबाट भए अनुसार जिल्लावासीहरुले पनि बिशेष सतर्कता अपनाउन सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रविर शाहीले आग्रह गरे । यो अवधिमा बिशेष काम नपरी यात्रा नगर्न समेत उनले जिल्लावासीलाई आग्ह गरेका छन । प्रशासन कार्यालयले जिल्लाका धेरैजसो भूभागमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ । उक्त अवधिमा भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्ने, आकस्मिक बाढी, पहिरो, गेग्रान बहाव तथा डुबानको जोखिम रहेको प्रशासन कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।प्रतिकूल मौसमका कारण सडक तथा हवाई यातायातसमेत अवरुद्ध हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै जोखिमयुक्त क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन आग्रह गरिएको सहायक प्रजिअ शाहीले बताए । जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन भन्दै नदी तथा खोला किनार, पहिरोको जोखिम भएका भिरालो जमिन र डुबान क्षेत्रका बासिन्दालाई पूर्वतयारी अपनाउन तथा जोखिमको सङ्केत पाउनेबित्तिकै सुरक्षित स्थानमा जान आग्रह गरिएको छ । यस्तै, अति आवश्यक कामबाहेक लामो दूरी तथा रातिको समयमा यात्रा नगर्न र यात्रा गर्नै परेमा पहिले सडक तथा मौसमको अद्यावधिक अवस्थाबारे जानकारी लिन समेत आग्रह गरेको छ । बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती तथा बिरामीको सुरक्षामा विशेष ध्यान दिनसमेत अनुरोध गरिएको छ । पशुचौपाया, खाद्यान्न, औषधी तथा महत्त्वपूर्ण कागजात सुरक्षित स्थानमा राख्न आग्रह गरेको छ । भ्रामक अफवाहको पछि नलागी मौसम विज्ञान विभाग, प्रदेश सरकार, स्थानीय तह तथा सुरक्षा निकायबाट जारी हुने आधिकारिक पूर्वसूचना र निर्देशन मात्र पालना गर्न सूचनामार्फत आग्रह गरिएको छ । सबै सम्बन्धित निकाय, स्थानीय तह, सुरक्षा निकाय, स्वयंसेवक तथा सरोकारवालालाई उच्च सतर्क अवस्थामा रहन र सम्भावित विपदमा परेका नागरिकलाई समयमै सुरक्षित स्थानमा स्थानान्तरण गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको छ । त्यसैगरि प्रहरीले सदरमकाुम सिमकोटमा माईकिङ गरेर पनि सचेत रहन आग्रह गरेको छ ।
























