दुई हप्तादेखि अवरुद्ध हुम्ला खण्डको कर्णाली करिडोर सुचारु

सि.टा.
हुम्ला । हुम्ला जिल्लाभित्र पर्ने कर्णाली करिडोर सुचारु भएको छ । पहिले सुख्खा पहिरो र पछि तीन दिन परेको लगातारको वर्षाको कारण कर्णाली करिडोरको ठाउँठाउँमा खसेको पहिरो पन्छाउने कार्य सम्पन्न भएपछि सडक सुचारु भएको हो ।
करिडोरको सर्केगार्ड गाउँपालिका – २ को छारे भीसमा खसेको सुख्खा पहिरो र पछि वर्षा अवधिमा विभिन्न स्थानमा खसेको पहिरो र ढुङ्गाले सडक अवरुद्ध हुँदै आएकोमा त्यसलाई पन्छाउने कार्य पुरा भएपछि असोज ४ गतेबाट अवरुद्ध हुँदै आएको करिडोर पुर्ण रुपमा सुचारु भएको हुम्ला जिल्लाबाट प्रतिनिधि सभाका सदस्य जयपति रोकायाले बताए । उनी पनि पैदल मार्गबाट सुर्खेत हुँदै काठमाडौं आउन लागेको र पहिरोको कारण रोकिएको सडक मर्मत तथा पहिरो पन्छाउने कार्यमा प्रत्यक्ष लागेका थिए । आफ्नै उपस्थितीमा सडकमा जम्मा भएको पहिरो पन्छाउने कार्य भएपछि यातायात सेवा सुचारु भएको थियो । उनको नेतृत्वमा खार्पुनाथ गाउँपालिका– १ को मुसेडीमा सडकमा खसेको ठुलो ढुङ्गालाई जेसिवी लगाएर हटाउने कार्य भएको थियो । सडक सुचारु भएपछि साठी भन्दा बढी साना ठुला यातायातका साधनहरु आआफ्नो गन्त्व्यतर्फ लाग्न पाएका छन ।
असोज ९, १० र ११ गते स्थानीय प्रशासनले संभावित क्षेतीबाट जोगाउनका लागि जिल्लाभरको यातायात सेवा सञ्चालनमा रोक लगाएको भएपनि त्यसपछि वर्षाले गर्दा हुम्ला जिल्लाभित्र पर्ने कर्णाली करिडोर पुर्ण रुपमा बन्द रहेको थियो । हिल्सा सिमकोट सडक योजनाका अनुसार हुम्ला जिल्लामा पर्ने कर्णाली करिडोरमा कवाडीदेखि हिल्सासम्मको दुरीमा चालीस भन्दा बढी स्थानमा पहिरो खसेको र कतै ठुल्ठुला ढुङ्गा खसेको कारण सडक अवरुद्ध भई रहेको थियो । उत्तरी क्षेत्रको नाम्खा गाउँपालिका– ५ को नारा लेकको सडक र वडा नम्बर ६ को हिमालपारीको गाउँ लिमी जाने न्यालु लेकको सडकमा साँढे चार फिट हिउ जमेको कारण ती सडक हालसम्म बन्द रहेका छन । हिउ नपन्छाएसम्म ती दुवै सडक सुचारु हुने अवस्था रहेको छैन ।
फोटो क्याप्सन
कर्णाली करिडोरको मुसेडीमा सडकमा खसेको ढुङ्गा हटाएपछि सुचारु भएका यातायातका साधनहरु ।