कन्चनपुरबाट उद्धार गरिएका बालबालिका अभिभावकको जिम्मामा

फोटो क्याप्सन जिल्ला प्रहरी कार्यालयमा उद्धार गरिएको बालबालिकालाई अभिभावको जिम्मा लगाईदै ।

सि.टा. समाचारदाता
हुम्ला ।       कन्चनपुर जिल्लाको गड्डा चौकीबाट भारत लैजाने क्रममा उद्धार गरिएका बालबालिकाहरुलाई जिल्ला प्रहरी कार्यालय हुम्लाले अभिभावकको जिम्मा लगाएको छ ।

कन्चनपुर जिल्लाबाट पैदल मार्ग हुँदै बिहीबार जिल्ला प्रहरी कार्यालयमा उद्धार गरि ल्याईएका ती बालबालिकाका अभिभावकहरु कानूनी सचेतना गर्दै कागज गरेर बालबालिकालाई जिम्मा लगाउने कार्य गरिएको हो ।

नौ जना बालिका र सोह्र जना बालक गरि पच्चीस जना बालबालिकालाई कन्चनपुर जिल्लाबाट उद्धार गरेर हुम्ला जिल्लामा आई पुगे लगत्तै अभिभावकको जिम्मा लगाएर घर फिर्ता गर्ने कार्य भएको प्रहरी नायव उपरिक्षक शंकर खड्काले बताए ।

अभिभावकलाई यसरी बालबालिकालाई पढाईको प्रलोभनमा पारेर बाहिर पठाउन नहुने र यसरी पठाउने जो कोही भएपनि कानूनी रुपमा सजायको भागीदार हुने सचेतना गरिएको छ ।

कन्चनपुर प्रहरीले त्यहाँ पुगेका अभिभावकलाई बालबालिका जिम्मा लगाएर दुई जना सुरक्षाकर्मीसँगै हुम्ला पठाईएको थियो । बालबालिकासंग शान्ति पुनस्थापना गृहका दुई जना कर्मचारी पनि आउनु भएको थियो ।

बालबालिकाको अभिभावकसंग पूनरमिलन कार्यक्रममा आठ वर्षको छोरा भारत पठाउनु भएका अभिभावक जयकृष्ण बुढाले प्रलोभनमा परेर पठाईएको र जुन काम गल्ति भएको स्वीकार गर्नुभयो ।

अव आफुबाट पनि यस्तो गल्ती नहुने र गाउँमा पनि सवैलाई जानकारी गराउने प्रतिबद्धता उहाँले ब्यक्त गरे । कार्यक्रममा सिमकोट गाउँपालिकाका अध्यक्ष जिजय भण्डारी, शान्ति पुनस्थापना गृहका क्षेत्रीय प्रमुख संजित सिंह, सिमकोट गाउँपालिका– ८ को वडा अध्यक्ष कमल बुढा, सामुदायी बिकास केन्द्रका प्रमुख निराजन बुढा लगाएतको उपस्थिती रहेको थियो ।

गत असोज २७ गते सिमकोट गाउँपालिका– ८ को स्याँडा गाउँबाट पैदल मार्गबाट लगेर नेपालगंज हुँदै कन्चनपुरको गड्डा चौकी नाकाबाट भारतमा लैजाने क्रममा भारतीय प्रहरी र नेपाल प्रहरीको सहयोगमा उद्धार गरिएको थियो ।

यो कार्यमा शान्ति पुनस्थापना गृहले पनि सहयोग गरेको थियो । त्यसपछि चौध दिनसम्म बालबालिकालाई कन्चनपुरको गृहमा राखिएको थियो । उद्धार गरिएको बालबालिका, अभिभावक र सुरक्षाकर्मीको यातायात र खाना खर्च साुमदायी बिकास केन्द्रले गरेको थियो ।