सि.टा. समाचारदाता
सिमकोट । उत्तरी हुम्लामा भारी हिमपात भई रहेको छ । शनिबार रातीबाट सिमकोट र नाम्खा गाउँपालिकाको उच्च क्षेत्रमा हिमपात हुँदा स्थानीयको जनजीवन समेत प्रभावित भएको हो ।
उत्तरी नाम्खा गाउँपालिका– ५ र ६ को हिल्सा, यारी, नारा, न्यालु, लिमी, लाप्चा, चाला, लगाएतका उच्च क्षेत्रमा भारी हिमपात भई रहेको यारी नाका भन्सार कार्यालयका प्रमुख रामराज जैसीले बताए । शुक्रबार दिउसो वर्षा भएपनि शनिबार रातीबाट भारी हिमपात सुरु भएर अहिले पनि भई रहेको उहाँले बताउनुभयो ।
हिमपात सुरु भएपछि हिल्साको तापक्रम माईनस सात डिग्रीसेल्सियलमा झरेको कारण चिसो पनि अत्याधिक बढेको उहाँले बताउनुभयो । हिमपात भई रहेकोले हिल्साका स्थानीयलाई घर बाहिर निस्कन समेत कठिन भएको छ ।
चिसोले बरफ जमेको कारण धारामा पानी समेत झर्न नसकेपछि स्थानीय नदीको पानी ब्यवस्था गर्न बाध्य भएका छन । भरखरै सञ्चालनमा आएको नारा खण्डको सडक हिमपात भई रहेकोले पून बन्द भएको छ ।
यता हिमालपारीको गाउँ लिमीमा पनि हिमपाई भई रहेको लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले बताए । हिमपातले लिमीका स्थानीय पनि घर बाहिर निस्कने अवस्था रहेको छैन लिमीमा चिसो पनि अत्याधिक बढेको छ ।
हिमपात सिमकोट गाउँपालिकाको छोवाखोर पंञ्चमुखी, रलिङ , बोक्सी हिमालको तल्लो क्षेत्रमा समेत भई रहेको छ । सदरमुकाम सिमकोट भन्दा तल्लो क्षेत्रमा भने वर्षा भई रहेको छ । वर्षाको कारण शुक्रबारबाट हवाई सेवा समेत बन्द रहेको छ ।










