सुत्केरी बेथा लागेकी गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार

फोटो क्याप्सन सुत्केरी बेथा लागेकी गर्भवती महिलालाई सिमकोट बिमानस्थलबाट उद्धार गर्ने क्रममा हेलिकोप्टर ।

सि.टा.समाचारदाता
सिमकोट । हिमाली जिल्ला हुम्लाबाट एक लामो जटिलयुक्त बेथा लागेकी गर्भवती महिलाको हेलिकोप्टरबाट प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उद्धार गरिएको छ । सुत्केरी बेथा लागेकी महिलालाई जिल्ला अस्पतालको रिफरमा सुर्खेत उद्धार गरिएको हो ।

कात्तिक २७ गते शुक्रबार हुम्ला जिल्लाबाट बेथा गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको अस्पतालकी बरिष्ठ अनमी सरिता बोहराले बताईन ।

सर्केगार्ड गाउँपालिका– ५ को गोठी गाउँकी २४ वर्षकी रेश्मा शाहीलाई हेलिकोप्टरबाट उद्धार गरिएकोे हो । शाहीलाई २४ गते अस्पताल ल्याईएको थियो । लामो जटिलयुक्त बेथा लागेको पाठेघरको मुख नखुलेको कारण जिल्ला बाहिर रिफर गरिएको हो ।

शल्यक्रिया गर्ने जनशक्ति अस्पतालमा भएपनि गर्भवतीलाई बेहोस पार्ने जनशक्ति नभएको कारण गर्भवतीलाई जिल्ला बाहिर रिफर गर्नु परि रहेको छ । त्यसैगरि गत आईतबार तीन दिनदेखी सुत्केरी बेथा लागेकी सर्केगार्ड गाउँपालिका– ३ को उनापानी गाउँकी बीस वर्षकी बसन्ती फडेरालाई प्रदेश अस्पताल कालागाउँ सुर्खेत हेलिकोप्टरबाट उद्धार गरिएको थियो ।

त्यसैगरि अघिल्लो शुक्रबार मात्र नाम्खा गाउँपालिका– ३ को खगालगाउँकी छ दिनकी सुत्केरी महिला ढिकीसाङमु लामा तामाङ पनि हेलिकोप्टरबाट सुर्खेत उद्धार गरिएको थियो । तालिम प्राप्त जनशक्ति र प्रयोग हुने औजारको अस्पतालमा अभाव भएको कारण जिल्ला बाहिर रिफर गर्नु परेको हो ।

यसअघि जिल्ला दक्षिणी क्षेत्रका गाउँपालिकाबाट सुत्केरी र गर्भवती महिलालाई उद्धार गर्ने गरिन्थ्यो । यसवर्षको यो चौथो हेलिकोप्टरबाट उद्धार हो । यसरी गर्भवती र सुत्केरी महिलाको उद्धरा गरिदा राष्ट्रपति महिला उत्थान कार्यक्रमको आर्थिक सहयोगमा हुने गरेको छ ।