राष्ट्रिय महिला लिग सर्वाधिक गोलकर्ताको दौडमा दीपा अगाडि

सि.टा समचारदाता
पहिलो चरणका २२ खेल सकिँदा त्रिभुवन आर्मी फुटबल क्लबकी दीपा शाहीले गरिन् सर्वाधिक पाँच गोल, लिगमा भएका छन् तीन ह्याट्रिक राष्ट्रिय महिला लिगको सर्वाधिक गोलकर्ता दौडमा त्रिभुवन आर्मी फुटबल क्लबकी दीपा शाहीले अग्रता बनाएकी छिन् । विभागीय टोली आर्मीकी दीपाले लिगको पहिलो चरणमा ४५ मध्ये २२ खेल सकिँदा पाँच गोल गरेकी छिन् । हुम्लाकी दीपाले सुदूरपश्चिम प्रदेशविरुद्ध एकै खेलमा पाँच गोल गर्दै उच्च गोलकर्ताको दौडमा आफूलाई उभ्याएकी हुन् । सुदूरपश्चिमविरुद्ध आर्मीले १४–१ को जित निकालेको थियो । ‘मेरो लक्ष्य भनेको लिगमा आर्मीलाई च्याम्पियन बनाउने हो । अहिले आफैँ धेरै गोल गर्ने भन्दा पनि टोलीलाई जिताउन भूमिका खेल्छु,’ दीपाले नयाँ पत्रिकासँग भनिन् ।

दीपाले चार गोल गरेकी राष्ट्रिय टोली तथा आफ्नै क्लबकी विमला चौधरी र कोशी प्रदेशकी समीक्षा मगरलाई पछि पारेकी हुन् । तीन गोल गर्नेमा संकटाकी विदेशी खेलाडी ज्याकलिन नासली, नेपाल पुलिस क्लबकी निरु थापा र दीपा न्यौपाने, अर्को विभागीय टोली सशस्त्र प्रहरी बल एपिएफ क्लबकी रेनुका नगरकोटे तथा आर्मीकै अनिता लम्जेल छन् । लिगमा दुई गोल गर्ने ११ खेलाडी छन् । त्यस्तै, १९ खेलाडीले समान एक गोल गर्दा पाँच खेलाडीले आत्माघाती गोल गरेका छन् । २२ खेल हुँदा तीन ह्याट्रिकसहित ५३ गोल भएका छन् । पुलिसकै गोलकिपर उषा नाथले सर्वाधिक तीन ‘क्लिन सिट’ राखेकी छिन् ।

विमला र समीक्षाको चार गोल विमला चौधरीले आफ्नै क्लबकी दीपालाई उच्च गोलकर्ताको दौडमा पछ्याइरहेकी छिन् । दीपा र बिमला राष्ट्रिय टोलीका सदस्यसमेत हुन् । कैलालीकी विमलाले लिगमा संकटा, एपिएफ, सुदूरपश्चिम तथा बागमती युवा क्लबविरुद्ध समान एक गोल गरेकी हुन् । यता, कोशी प्रदेशकी समीक्षाले वालिङविरुद्ध पहिलो खेलमा दुई गोल गर्दा बागमती र कर्णाली प्रदेशविरुद्ध समान एक गोल गरेकी छिन् । समीक्षा लिगमा उच्च गोलकर्ताको दौडमा आफूलाई अगाडि बढाउँदै राष्ट्रिय टिमको यात्रा तय गर्ने योजनामा छिन् ।

रोमाञ्चक बन्यो शीर्ष पाँचको दौड
विभागीय तीन टोलीसँगै कोशी प्रदेश पनि शीर्ष पाँचको दौड प्रतिस्पर्धामा उत्रिँदा समीकरण रोमाञ्चक बनेको छ । लिगको पाँचौँ चरण सुरु हुँदा चार क्लबबीच जम्मा एक अंकको प्रतिस्पर्धा छ । पाँच खेल खेलेको पुलिस ११ अंकसहित शीर्षस्थानमा छ । एक खेल कम खेलेको एपिएफसँगै पाँच खेल खेलका कोशी र आर्मीको समान १० अंक छ । पाँचौँ स्थानमा वालिङ रहेको छ ।

लिगको ४५ खेलपछि दोस्रो चरणमा १० मध्ये पाँच टोली प्रवेश गर्नेछन् । शीर्ष पाँचको प्रतिस्पर्धामा तीन विभागीयसँगै कोशी बलियो देखिएको छ । थप एक टोलीका लागि वालिङ, चन्द्रपुर नगरपालिका, संकटा र बागमती युथ क्लबबीच चर्को प्रतिस्पर्धा छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश भने पुछारमा छन् ।

पुलिसका प्रशिक्षक भोला सिलवालले शीर्ष पाँचमा स्थान बनाउन सहभागी टोलीबीच चर्को प्रतिस्पर्धा भएको मान्छन् । ‘विदेशी खेलाडी सहभागी भएसँगै शीर्ष पाँचको प्रतिस्पर्धा चर्को छ । सबै टोली सन्तुलित देखिन्छन्,’ उनले भने, ‘विभागीय टोलीलाई पनि सहज पक्कै छैन ।’

आर्मी र पुलिसले अंक बाँडे
लिगको विभागीय डर्बीमा आर्मी र पुलिसले १–१ को रोमाञ्चक बराबरी खेलेका छन् । दशरथ रंगशालामा पहिलोपटक यो लिगका खेल भएका हुन् । तर, अखिल नेपाल फुटबल संघ ९एन्फा०को लापरबाहीका कारण मैदानमा कुनै स्कोर बोर्ड दिएन ।

खेल हेर्न आएका समर्थकले गोल भए, नभएको तथा समयसमेत थाहा पाउन सकेनन् । पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् । दोस्रो हाफ अमृता जैसीले पुलिसलाई ४९औँ मिनेटमा अग्रता दिलाईन् । बक्स बाहिर पाएको फ्रिकिकलाई अमृताले दोस्रो बारमा उत्कृष्ट गोल गरिन् । उनको प्रहार आर्मीकी गोलकिपर अञ्जना राना मगरले रोक्ने प्रयास गरे पनि सफल भइनन् ।

‘प्लेयर अफ दी म्याच’
अमिशा कार्कीले ६३औँ मिनेटमा बराबरी गोल गरिन् । गोलकिपर उषा अगाडि बढेको फाइदा उठाउँदा अमिषाले आकर्षक गोल गरेकी थिइन् । दुवै टोलीका प्रशिक्षकले मैदान नयाँ हुँदा समस्या भएको बताए । ‘धेरै समयपछि यो मैदानमा खेल्दा हाम्रो खेलाडीलाई गाह्रो भयो,’ आर्मीका प्रशिक्षक टेकबहादुर बुढाथोकीले भने, ‘समग्रमा खेल राम्रो भयो । तर, हामीले पाएका तीन चार अवसर खेर फ्याल्यौंँ ।’

पुलिसका प्रशिक्षक भोला सिलवाल दोस्रो हाफमा दबाबमा आएको प्रतिक्रिया दिए । उनले आर्मीविरुद्ध अंक बाँड्दा शीर्षस्थानमा अग्रता बनाउन चुकेको बताए । ‘दोस्रो हाफमा बराबरी गोल भएपछि दबाबमा आयौं । केही राम्रा अवसर बनाएका पनि थियौँ । गोल हुन सकेन,’ उनले भने, ‘दोस्रो हाफमा खेलाडी थाकेको जस्तै देखियो । आर्मीविरुद्ध अंक बाँड्दा घाटा लागेको छ । अब, एपिएफले अन्य टोलीविरुद्ध खेल्ने खेलको नतिजा हेर्नुपर्छ ।’