
तस्बिर : राजन रावत, हुम्ला
- सि.टा. समाचारदाता
सिमकोट । अगुवा किसानहरुलाई अन्तर गाउँपालिका अवलोकन भ्रमणमा लगिएको छ । कृषि क्षेत्रमा नमूना योग्य काम गरिका कामको बारेमा जानकारी गराउन र किसानलाई देखाउनका लागि अवलोकन भ्रमण गरिएको हो ।

दुवै गाउँपालिकाका किसानहरुलाई अनुभव आदान प्रदान गर्न र कृषि क्षेत्रमा गरिएका नयाँ प्रयास सिकाउनका लागि अवलोकन भ्रमण गरिएको हो । सिमकोट र खार्पुनाथ गाउँपालिका भुगोल हावापानीका हिसावले फरक भएको कारण खार्पुनाथका अगुवा किसानहरुलाई सिमकोटमा अवलोकन भ्रमणमा ल्याउने कार्य भएको जलवायु उत्थानशील हरित कृषि तथा उत्पादनशिल पारिस्थितकीय पद्धती ( ग्रेप ) परियोजना एन्साव नेपालका संयोजक राजन शाहले बताए । किसानहरुलाई कृषिधारका बिधार्थीहरुले सैद्धान्तिक रुपमा खेती गर्ने तौर तरिका, दुरीका बारेमा पनि जानकारी दिने काम अवलोकन भ्रमणका क्रममा भएको उनले बताए । यो भ्रमणका क्रममा मल्चिङ खेती, ठाडो खेती, टनेल खेती, गृनहाउसमा आधार खुल्ला बनाएर गरिएको तरकारी खेतीका बारेमा कृषिधारका प्रशिक्षक र बिधार्थीहरुबाट जानकारी दिने कार्य भएको उनले बताए । अर्को कुरा उचाई अनुसार गरिने खेतीका बारेमा पनि किसानहरुले जानकारी पाएका थिए । रासायानिक विषादी मुक्त जिल्ला भएको कारण झोल मल, गोठे मल, जैविक विषादी तयार पार्ने तरिका पनि किसानहरुले जानकारी पाएका थिए । त्यसैगरि स्याउँ बगैचा तथा च्याउ खेतीको बारेमा पनि जानकारी दिने कार्य भएको थियो । ब्यवसायीक स्याउ खेती गर्नका लागि आवश्यक पर्ने सीपका बारेमा पनि जानकारी दिने कार्य भएको थियो । त्यसैगरि किसानहरुलाई सिचाईका लागि बालुवा, माटो र सिमेन्ट प्रयोग गरिएको पोखरी हेर्ने कार्य पनि भएको थियो । खार्पुनाथ गाउँपालिकाका किसानहरुले आफ्ना जिज्ञासाहरु विद्यालयको प्रशिक्षक, बिधार्थीहरु र सिमकोटका अगुवा किसानसंग जिज्ञासा राख्ने कार्य पनि गरेका थिए । अवलोकन भ्रमणमा सहभागी भएकी खार्पुनाथ गाउँपालिका–४ की छिप्रा गाउँको ज्ञानमति हमालले भ्रमण फलदायी भएको बताईन । हमालले तरकारी खेती बिशेष गरि तमाटर र केप्सीकन फलाएर मनग्य कमाई गर्ने किनासमा पर्छिन् । उनले अवलोकन भ्रमणबाट धेरै नयाँ कुरा सिकेको र अब आफ्नो तरकारी खेतीमा पनि प्रयोगमा ल्याउने जनाईन । अर्को कुरा हमालले मल्चिङ खेतीबाट आफु प्रभावित भएको र यो बिधि प्रयोग गरेर आफ्नो तरकारी बारीमा लगाउने तरकारी बाह्रै महिना फलाउन सकिने ज्ञान भ्रमणबाट सिकिएको बताईन । यसका लागि खार्पुनाथ गाउँपालिका– ४ र ५ का स्थानीय श्रोत ब्यक्ति गरि बीस जना अगुवा किसानहरुलाई सहभागी गरिएको हो । भ्रमण दुई दिनसम्म सञ्चालन भएको थियो ।






















