लोकसेवा आयोगमा आवेदन दिने सर्लाहीका, सिफारिस हुने गुल्मीका

सि.टा समाचारदाता
सिमकोट । लोकसेवा आयोगले खुल्ला  गरेको विज्ञापनमा सबैभन्दा बढी आवेदन सर्लाहीबाट परेका छन् । आयोगले बुझाएको आव २०८०/८१ को प्रतिवेदन अनुसार प्रतिवेदनमा सो करा उल्लेख गरिएको छ । यस  अवधिमा निजामती सेवातर्फ प्रकाशित आन्तरिक, खुला तथा समावेशी समूहका विज्ञापनका लागि आयोगको अनलाइन दरखास्त प्रणालीमा कुल ४ लाख ७३ हजार ४९० दरखास्त प्राप्त भएको हो ।जसमा सबैभन्दा बढी सर्लाहीबाट १८ हजार ३२८, धनुषाबाट १६ हजार ६७३, सप्तरीबाट १६ हजार ५१४, महोत्तरीबाट १५ हजार ८३५ र बाराबाट १५ हजार ४२३ वटा आवेदन परेको हो।आयोगका अनुसार कुल आवेदनको १७.४८ प्रतिशत दरखास्त यी पाँच जिल्लाबाट परेको हो। यस्तै, सबैभन्दा कम मनाङबाट १०, मुस्ताङबाट ४९, रसुवाबाट ४५८, रुकुम पूर्वबाट ७३९ र डोल्पाबाट १ हजार २४ वटा आवेदन परेको हो ।

आयोगका अनुसार यस अवधिमा निजामती सेवातर्फका १ हजार ४५५ विज्ञापनमध्ये विभिन्न २४ वटा विज्ञापनमा कुनैपनि दरखास्त परेको छैन् ।

आयोगको प्रतिवेदनमा आव २०८०÷८१ मा निजामती सेवातर्फ २ हजार ६८८ जना उम्मेदवार स्थायी नियुक्तिका लागि सिफारिस भएका छन्। जसमा ७४४ जना महिला र १ हजार ९४४ जना पुरुष रहेका छन् ।

सबैभन्दा बढी उम्मेदवार सिफारिस हुने जिल्लामा गुल्मी रहेका छन्। यस जिल्लाबाट १०४ जना स्थायी नियुक्तिका लागि सिफारिस भएका छन्। यसैगरी, स्याङजाका १०२, सर्लाहीका ९१, धनुषाका ७८ र कञ्चनपुरका ७३ जना स्थायी नियुक्तिका लागि सिफारिस भएकाा छन् । मनाङ र मुस्ताङबाट कुनै पनि उम्मेदवार सिफारिस हुन नसकेको आयोगले जनाएको छ ।