लोग भण्डारी
सिमकोट । खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमीटेडको सिमकोट शाखामको गोदाममा सात हजार भन्दा बढी क्वीन्टल खाद्यान्न मौज्दात रहेको छ । गत आर्थिक वर्ष ०८०।०८१ को निर्धारित पैदल तथा हवाई मार्गको खाद्यान्न सबै ढुवानी हुनु र विगतका वर्ष भन्दा यो वर्षा खाद्यान्न बिक्री कम हुने भएको कारण खाद्यान्न मौज्दात राम्रो देखिएको हो ।
खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमीटेडको सिमकोट शाखामा पहिलो पटक दशैको समयमा गोदाममा खाद्यान्न मौज्दात राम्रो पाईएको छ । नेपालीहरुको महान चाड वडा दशै तिहारको समयमा खाद्यान्न समस्या नहुने गरि लिमीटेडको शाखामा खाद्यान्न मौज्दात राम्रो रहेको निमित्त कार्यालय प्रमुख नविन आचार्यले बताए । उनले शनिवारसम्म शाखाको गोदाममा सात हजार २५ क्वीन्टल खाद्यान्न मौज्दात रहेको बताए । दशैको बेला हालसम्म कै शाखाको गोदाममा खाद्यान्न् मौज्दात राम्रो रहेको हो । हाल असोज ६ गतेबाट चाडपर्वका लागि छुटमा खाद्यान्न बिक्री भई रहेको छ । खाद्यान्न बिक्री गर्ने कार्य असोज १५ गतेसम्म हुनेछ । यो बिक्री भई रहेको खाद्यान्न सबै गत आर्थिक वर्षको हो । त्यसैगरि गोदाममा चार हजार १८ लिटर सुर्यमुखीको तेल पनि मौज्दात रहेको छ । सो तेल पनि छुटमा बिक्री भई रहेको छ । त्यसैगरि सर्केगार्ड गाउँपालिकाको डिपो कार्यालय सर्केगार्डमा २३२ दशमलव ७५ क्वीन्टल र अदानचुली गाउँपालिकाको श्रीनगर डिपोमा २१ क्वीन्टल खाद्यान्न मौज्दात रहेको छ । चालु आर्थिक वर्षको खाद्यान्न ढुवानीका लागि पनि टेण्डर भई सप्लायर्स छनौट कार्य भई सकेको छ ।
























