बाढीपहिरोमा परी हालसम्म दुई सय ४४ जनाको मृत्यु

सि.टा. समाचारदाता
सिमकोट । केही दिन अगाडी गएको बाढीपहिरामा परी हालसम्म दुई सय ४४ जनाको मृत्यु भएका छन् । भने १९ जना हालसम्म बेपत्ता रहेका छन् ।

अन्य एक सय ७९ जना घाइते भएका छन् । गृह मन्त्रालयका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय ७४ जनाको उद्धार गरिएको छ भने सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मतसम्भार गरी यातायातका साधन सञ्चालनको प्रयास जारी छ । बाढीपहिरो पीडितको विवरण सङ्कलन स्थानीयस्तरबाट भइरहेको छ । त्यो प्राप्त भएपछि अस्थायी आवासका निम्ति सरकारले प्रदान गर्ने सहायता रकम वितरण हुनेछ । स्थानीय तहबाट प्रभावित परिवारलाई खाद्यान्नलगायत सहयोग प्रदान भएको छ । सरकारले जिल्ला विपद् व्यवस्थापन कोषमार्फत प्रतिमृतक रु दुई लाखका दरले निजका परिवारलाई सहायता रकम उपलब्ध गराएको छ । हालसम्म त्यस्तो सहायता एक सय ६० परिवारले पाइसकेका छन् । बाढीपहिरामा परी सबैभन्दा बढी काभ्रेपलाञ्चोकमा ७२ जनाको मृत्यु भएको छ भने त्यहाँ हालसम्म ५९ मृतकका आफन्तलाई आर्थिक सहयोग प्रदान गरिएको गृह मन्त्रालयले जनाएको छ ।