पचहत्तर हजार लगानी गरेर अबरुद्ध खच्चको सडक यातायात ब्यवसायीद्धारा सुचारु

सि.टा. समाचारदाता
सिमकोट । कर्णाली करिडोरको हुम्ला जिल्लामा पर्ने खच्चा क्षेत्रको अवरुद्ध सडक सो क्षेत्रमा रोकिएका यातायात ब्यवसायीले लगानी गरेपछि सुचारु भएको छ ।

खच्चमा रोकिएका प्रत्येक यातायातका साधनहरुबाट पैसा उठाएर मेशिनले लिएर सडक मर्मत गरेपछि अवरुद्ध सडक सुचारु भएको हो ।

खच्चमा सडक अवरुद्ध भएपछि चार दिनदेखि रोकिदै आएका यातायातका साधनहरुले ब्यक्तिगत रुपमा पैसा उठाएर मेशिनलाई दिएर मर्मत गरिएपछि अवरुद्ध सडक सुचारु भएको चालक चुणमणि थारुले बताए ।

उनले प्रत्येक चालकबाट पाँच हजार रुपियाँ उठाएर मेशिन मालिकलाई दिईएको बताए । खच्चमा तेह्र वटा मालबहाक ट्रक र दुई वटा ट्याक्टर रहेका थिए ।

उनीहरुबाट पचहत्तर हजार रुपियाँ उठाएर मेशिन चालकलाई दिदा सडकमा खसेको ढुङ्गा फाल्ने र पहिलो पुरिएको सडक सफा गर्ने कार्य गरिएको थियो ।

सो क्षेत्रको चार सय मिटर सडकमा पहिरो गएको र केही सडकमा ठुलो ढुङ्गा समेत खसेर सडक मै रोकिएको कारण ठुला यातायातका साधन ठप्प भएका थिए । सो क्षेत्र पानी पर्दा र सुख्खा पहिरो गई रहने क्षेत्र हो ।

सो सडक खण्ड हुम्ला जिल्लामा पर्ने भएपनि सडक विभागको बाजुरा जिल्लामा रहेको कार्यालयले हेर्दै आएको छ । वर्षै भरि मर्मत गर्नु पर्ने सडकमा सो खण्ड पर्ने गर्छ ।

सडक अवरुद्ध भएपनि सडक बिभागको वाजुरा कार्यालयसंग समन्वय गरेर सडकको मर्मत कार्य अगाडी बढाउने प्रयास गरिए पनि मर्मत हुन सकेको थिएन ।