सि.टा. समाचारदाता
सिमकोट । किसानहरुलाई हाते ट्याक्टर प्रदान गरिएको छ । किसानलाई परम्परागत प्रबिधिबाट खेत जोत्ने काठे हलोलाई बिस्थापित गर्न हाते ट्याक्टर सहयोग गरिएको हो ।
सिमकोट गाउँपालिका– ८ को स्याँडा गाउँका किसानहरुलाई खेत बारी जोत्नका लागि तीन वटा हाते ट्याक्टर सहयोग प्राप्त भएको छ । हाते ट्याक्टर प्राप्त भएपछि परम्परागत काठे हलो बिस्थापित हुने छ । यसवाट किसानलाई जोत्न सहज भएको छ । यसवाट अर्को फाईदो मेशिनबाट जोत्न छिटो पनि हुने छ । हाते ट्याक्टर सहयोग गर्ने आधार बिकास नेपालका कृषि संयोजक गगन रोकायाले नयाँ प्रबिधिबाट खेतीपाती गर्न सहयोग पुर्याउने उद्धेश्यले यसवर्ष स्याँडाको तीन जना र नाम्खा गाउँपालिका– २ को केर्मी गाउँका दुई जना किसानहरुलाई अनुदानमा सहयोग गरिएको बताए । हालसम्म जिल्लाभर यो प्रबिधि भित्रिएको छैन । सहज रुपमा किसानलाई जोत्ने कार्य गर्नका लागि हाते ट्याक्टर दिने काम भएको र किसानहरुले जेठासीवाली जौ र गहुँ जोतेर छर्न समेत सुरु भएको उनले बताए । प्रति ट्याक्टर चालीस हजार रुपियाँमा मुल्य तिरेर चीनको ताक्लाकोटबाट ल्याईएका हुन । उक्त कार्यक्रमले गत वर्ष दुई वटा यस्तै ट्याक्टर कृषि समुहलाई प्रदान गरेको थियो । सामुहिक रुपमा सञ्चालन गर्नका लागि मेशिन दिदा प्रभावकारी नदेखिएको कारण यसवर्ष ब्यक्तिगत रुपमा दिईएको हो ।
















