सि.टा. समाचारदाता
सिमकोट । मंसीर १६ गते हुन गई रहेको सर्केगार्ड गाउँपालिकाको उपनिर्वाचनको लागि हुम्ला काँग्रेसले चार वटा समिति गठन गरेको छ । निर्वाचनको प्रचार प्रसार कार्यलाई व्यवस्थित बनाउनका लागि काँग्रेस छुट्टा छुट्टै समिति गठन गरेको हो ।
निर्वाचनलाई ब्यवस्थित मतदाताकोे घरघरमा पुग्नका लागि चार वटा समिति गठन गरिएको काँग्रेस उपसभापति बसन्त रोकायाले बताए । जसमा पार्टी सभापति मोहन बिक्रम सिंहलाई उपनिर्वाचनको समन्वय गर्नका लागि मुल समन्वय समितिको संयोजक तोकिएको छ ।
निर्वाचनको अवधिमा उक्त समितिले समन्वय, सहकार्य र सकृयता गर्नेछ । उक्त समितिले काँग्रेसद्धारा गठिन अन्य तीन वटा समितिसंग समन्वयका साथै अन्य ब्यक्त्सिंग पनि समन्वय र सहकार्य गर्नेछ ।
त्यसैगरि चुनावी प्रचार प्रसारका लागि सम्पुर्ण संयोजन गर्न संविधान सभा सदस्य शाहीको संयोजकत्वमा चुनावी परिचालन समिति गठन गरिएको छ । समितिको उपसंयोजकमा काँग्रेस क नम्बर प्रदेशका सभापति मानदेव शाहीलाई तोकिएको छ ।
संयोजक तोकिएसंगै शाहीको टोली चुनावी प्रचार प्रसारका लागि सर्केगार्ड गाउँपालिका पुगी सकेको छ । त्यसैगरि निर्वाचन ब्यवस्थापन समितिको संयोजकमा सर्केगार्ड गाउँपालिका अध्यक्ष ठानबहादुर रोकायालाई संयोजक तोकिएको छ भने उपसंयोजकमा नेपाली काँग्रेस सर्केगार्ड गाउँपालिकाका सभापति धनराज शाहीलाई तोकिएको छ ।
यता आर्थिक ब्यवस्थापन समितिको संयोजकमा काँग्रेस हुम्लाकी कोषाध्यक्ष बबिता शाहीलाई संयोजक तोकिएको छ । सर्केगार्ड गाउँपालिकाको उपाध्यक्ष पदका लागि नेपाली काँग्रेसले सविता बुढालाई उम्मेदवार छनौट गरि सकेको छ ।















