मनपरी हवाई भाडा वृद्धि वायुसेवा कम्पनीहरुलाई कारबाही हुन्छः मन्त्री पाण्डे

सि.टा. समाचारदाता

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले मनपरी हवाई भाडा वृद्धि गरी यात्रुलाई ठग्ने वायुसेवा कम्पनीहरुलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

नेपालसँगको कुराकानीमा मन्त्री पाण्डेले मन्त्रालयले उपभोक्ताहरुको अधिकार हनन हुनेगरी भाडा लिने कम्पनीहरुलाई कारबाही गर्ने चेतावनी दिएका हुन् ।

उपभोक्ताहरुको अधिकार हनन नहुने गरी न्यायोचित रकम मात्रै लिन वायुसेवा कम्पनीहरुलाई निर्देशन दिए । गत शुक्रबारदेखि दैनिक १० घण्टा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरेर विमानस्थल निर्माणको काम सुरु भएदेखि वायुसेवा कम्पनीहरुले मनपरी हवाई भाडा वृद्धि गरेको गुनासो यात्रुहरुले गर्दै आएका छन् ।

सो विषयमा उनले हवाई भाडा वृद्धिबारे आफूले परराष्ट्रमन्त्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र नेपाल नागरिक उड्डयन प्राधिकरणसँग छलफल गरिसकेको बताए । तीन मन्त्रालयको समन्वयमा विमान सञ्चालकहरुसँग पनि छलफल गरी बढी भाडा नलिन निर्देशन दिएको बताए ।

हवाई भाडा बढेका विषयमा ५ बुँदे निर्णय गरी ट्राभल एजेन्सीहरुले टिकटहरु होल्ड गर्ने र महंगोमा बेचिएको कुरालाई रोक्न क्यानलाई निर्देशन दिइसकेको बताए । अहिले क्रमिक रुपमा हवाई भाडादर पुरानै मूल्यमा आएको बताए । सस्तो टिकट कतिको र महंगो टिकट कतिको बिक्यो भन्ने फेहरिस्त सार्वजनिक गर्न समेत क्यानलाई निर्देशन दिएको बताए ।

‘टिकेटको कुरा गर्नुभयो । मैले टिकेटको मूल्य बढेपछि परराष्ट्रमन्त्री, श्रममन्त्री र म बसेर र केही सरोकारवाला साथीहरु बसेर हाम्रो मन्त्रालयको समन्वयमा क्यानमा विमान सञ्चालकहरु र तिनीहरुका प्रतिनिधिहरुलाई राख्यौँ । टिकट बढेका विषयमा उहाँहरुलाई ५ बुँदे निर्णय गरेका छौँ । उहाँहरु त्यो निर्णयमा सहभागी हुनुहुन्छ । ट्राभल एजेन्सीहरुले टिकटहरु होल्ड गर्ने भनेर महंगोमा बेचिएको कुरा अयो, त्यो रोक्नुस् भनेका छौँ । त्यो प्याकेजमै होल्ड गर्ने प्रवृृत्ति रोक्नुस् भनेका छौँ । त्यसमा उहाँहरु सहमत हुनुहुन्छ,’ उनले भने,’सस्तो कतिको टिकट बिक्यो, महंगको कतिको बिक्यो त्यो सबै फेहरिस्त सार्वजनिक गर्नुस् भनेका छौँ । उपभोक्ताहरुको अधिकार हनन नहुने गरी न्यायोचित र तर्कपूर्ण प्राइजमा मात्रै टिकटको भाडा लिनुस् भनेका छौँ । त्यसमा उहाँहरु सहमत हुनुहुन्छ । पछिल्ला केही कम्प्लेन भएको भए क्यानको उच्चपदस्थ कर्मचारीको नम्बरसहित निर्णय सार्वजनिक गरेका छौँ । त्यो कम्प्लेन त्यहाँ गएका छौँ । त्यो विपरित उहाँहरु जानुभएको छ भने कडा कारबाही गर्ने प्रतिवद्धता जनाएका छौँ । टिकटको मूल्य बढेको कुरा केही दिन यता बिस्तारै कम हुँदै गएको छ । केही गुनासो भए सम्बोधन गर्न तत्पर छौँ ।’

मन्त्री पाण्डेले भैरहवामा उडानको चाप बढाउन र पोखरामा पनि उडान बिस्तार गर्न मन्त्रालयले योजनावद्ध रुपमा काम अघि बढाइरहेको बताए । भैरहवामा अहिले ५ वटा एयरलाइन्सहरुले उडान गरिरहेको र यसलाई १० वटासम्म कसरी पुर्याउने भन्ने योजनामा मन्त्रालय रहेको उनले बताए । उनले पोखरामा पनि उडानका गतिविधि बढाउने गरी आफू अघि बढिरहेको बताए । आफूले निजी क्षेत्रहरुसँग पनि उडान बिस्तारका लागि आवश्यक छलफल अघि बढाएको बताए ।