सि.टा. समाचारदाता
सिमकोट । निर्वाचन आयोगले अनुमति विना उपनिर्वाचनको प्रचार प्रसारमा हिँड्ने मन्त्री र जनप्रतिनिधिलाई कारबाही गरिने भएको छ । आयोगले प्रधानमन्त्री, संघीय र प्रदेश सरकारका मन्त्री एवं स्थानीय तहका जनप्रतिनिधि अनुमति विनै प्रचारप्रसारमा लागे कारवाही गर्न निर्देशन दिएको हो ।
आयोगले बुधबार ३ बुँदे निर्देशन जारी गर्दै आगामी १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि जारी गरिएको निर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन पनि दिएको छ ।
उपनिर्वाचन हुने ३३ जिल्लाका ४४ स्थानीय तहमा आईतबारदेखि निर्वाचन आचारसंहिता लागु भईसकेको छ । आयोगले त्यसको प्रभावकारी कार्यान्वयनका लागि जिल्ला आचारसंहिता अनुगमन समितिले निर्णय गरि आचारसंहिताको पालना गर्न गराउन जिल्ला आचारसंहिता अनुगमन समितिको काम, कर्तव्य र अधिकार अतिरिक्त विभिन्न निर्देशन दिएको छ ।
त्यसैगरी, निर्वाचन आयोगले आचारसंहिता पालना तथा राजनीतिक दल वा उम्मेदवारले गर्न पाउने खर्च सिमाको सम्बन्धमा आवश्यक सूचना र विवरण लिई तत्काल कारवाही गर्न पनि निर्देशन दिएको छ ।















