एक वर्षयता प्रहरीले बरामद गरेको अवैध चिनीयाँ मदिरा हिल्सामा नष्ट

हिल्सामा चिनीयाँ मदिरा नष्ट गरिदै । तस्बिर ः राजन रावत, हुम्ला

सि.टा. समाचारदाता
सिमकोट । चीनको ताक्लाकोटबाट अबैध तरिकाले नेपालतर्फ हिल्सा ल्याउने क्रममा प्रहरीले बरामद गरिएको अवैध चिनीयाँ मदिरा बिहीबार नष्ट गरिएको छ । सेवनका लागि योग्य नभएको र त्यसलाई नष्ट गर्नु नै उपयुक्त ठानेर यारी नाका प्रहरी कार्यालयले प्रहरी र हिल्साका स्थानीय बासिन्दाको रोहवरमा सो मदिरा नष्ट गरिएको हो ।

एक वर्षयता बिभिन्न मितिमा बेवारिसे रुपमा प्रहरीले भेटाएको अवैध चिनीयाँ मदिरा हिल्सामा नष्ट गर्ने कार्य भएको यारी नाका भन्सार कार्यालयका प्रमुख रामराज जैसीले बताए । प्रहरीले गस्तीका क्रममा जिल्लामा भित्र्याउनका लागि लुकाएर राखिएको अवस्थामा फेला पारिएको र खच्चडमा ढुवानी गरि रहेको अवस्थामा भेटिएको सो मदिरालाई स्थानीय प्रशासनको सहमतिमा हिल्सा मै खाल्डो खनेर नष्ट गर्ने कार्य भएको उनले बताए ।

यसमा ४२० कार्टुन चिनीयाँ मदिरा, दुई कार्टुन चिनीयाँ बियर र चारपाटे चिनीयाँ मदिरा आठ कार्टुन र बोर्डबाईजर आठ कार्टुन र लासा वियर पाँच कार्टुन गरि जम्मा ४४३ कार्टुन नष्ट गर्ने कार्य गरिएको हो ।

हाल लुकिछिपी जिल्लामा भित्रिएको उक्त मदिरा प्रति बोटल पाँच देखि आठ सयमा बिक्री हुने गर्दै आएको छ । चिनीयाँ मदिराको मुल्य मात्र तीस लाख चौबीस हजार पर्न आउन छ भने बियर चारपाटे रक्सिको पचास हजार पर्न आउनछ ।

यो मदिरा जिल्लामा भित्र्याउने अनुमति नभएपनि ब्यापारीहरुले लुकिछिपी ल्याउने गर्दै आएका छन् ।