सि.टा. समाचारदाता
सिमकोट । हिमाली जिल्ला हुम्लाका लागि नेपाल साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड ढुवानी अनुदानमा उपलब्ध गराउने आयोडिन युक्त नून हवाई मार्गबाट ढुवानी कार्य सुरु भएको छ । हवाई मार्गबाट ढुवानीको जिम्मा पाएको टसी कार्गो ढुवानी सेवा सुर्खेतबाट तारा एयरमा सो कार्य सुरु गरेको हो ।
यस वर्षको हवाई मार्गबाट एक हजार एक सय क्वीन्टल कोटा नून निर्धारण भएको र सो नूनको ढुवानी कार्य सुरु भएको लिमिटेड हुम्ला शाखाका प्रमुख राजबहादुर लामाले जानकारी दिए । उक्त नून तारा एयरको जहाजले ढुवानी सुरु गरेको छ र अब लगातार ढुवानी हुनेछ ।
यो नुन तीन वटा गाउँपालिका नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिकाका स्थानीय बासिन्दाहरुको लागि बिक्री गरिने छ । त्यसैगरि शाखा कै लागि पैदल मार्गबाट पनि पँच सय क्वीन्टल कोटा रहेकोमा तीन सय भन्दा बढी क्वीन्टल ढुवानी भई सकेको र बाँकी पनि चाँडै ढुवानी हुनेछ ।
त्यसैगरि सर्केगार्ड र चंखेली गाउँपालिकाका लागि सर्केगार्ड डिपोका लागि नौ सय क्वीन्टल कोटा निर्धारण गरिएको छ भने अदानचुली र ताजाकोट गाउँपालिकाका लागि श्रीनगर डिपोका लागि नौ सय क्वीन्टल कोटा निर्धारण गरिएको छ ।
यो नून ढुवानीका लागि सप्लायर्स छनौट भई सकेको भएपनि ढुवानी भने सुरु भएको छैन । हुम्ला लिमिटेडले ढुवानीमा अनुदान दिएको कारण प्रतिकेजी नौ रुपियाँमा नून पाउने गर्छ ।
















