महिलाका लागि तीन महिने ढाँका कपडा बुनाई तालिम सुरु

फोटो क्याप्सन तालिमको उद्घाटन कार्यक्रमका सहभागीहरु । तस्बिर : सि.टा.

सि.टा . समाचारदाता
सिमकोट । सिमकोट गाउँपालिकाका महिलाहरुलाई तीन महिने ढाँकाको कपडा बुनाई तालिम सुरु भएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका सीप बिकास तथा रोजगारमुलक तालिम कार्यक्रमबाट सञ्चालन गरिएको हो ।
चालु आर्थिक वर्षको कार्यक्रम अनुसार महिलाहरुका लागि तीन महिने ढाँकाको कपडा बुनाई तालिम सुरु भएको कार्यालय प्रमुख श्री बहादुर बिष्टले बताए ।

तालिम मंगलबारबाट सुरु भएको हो । तालिमको एक कार्यक्रमका बिच प्रमुख जिल्ला अधिकरी नारायण पाण्डेले उद्घाटन गरेका थिए । सो कार्यक्रममा प्रजिअ पाण्डेले सीप सिकेर महिलालाई ब्यवसायी बन्न आग्रह गरे । तालिमपछि ब्यवसायी बने अन्य काम भन्दा यो कामबाट राम्रो आम्दानी समेत हुने भएको कारण तालिमलाई प्रयोगमा ल्याउनु पर्ने बताए ।

त्यसैगरि कार्यक्रमको अध्यक्षता गरेका सिमकोट गाउँपालिकाका अध्यक्ष बिजय भण्डारीले रोजगार मुलक तालिम लिनु भन्दा पनि तालिम पश्चात यसको प्रयोग महत्वपुर्ण कुरा भएको हुँदा ढाँकाको कपाड उत्पादन गर्न सहभागी महिलालाई आग्रह गरे । ब्यवसायी बन्न सके गाउँपालिका पनि सहयोग गर्न तयार रहेको प्रतिबद्धता उनले ब्यक्त गरे ।

कार्यक्रममा सिमकोट गाउँपालिका– ५ का वडा अध्यक्ष चिन रावत र पत्रकार महासंघका अध्यक्ष राजन रावतले शुभकामना मन्तव्य दिएका थिए । दश जना महिलाले यो तालिम लिन सुरु भएको छ । तालिम पश्चात तीस प्रतिशत सहभागीको लगानीमा तान सहयोग गरिने छ ।  यो तालिमका लागि कार्यालयले चार लाख बजेट खर्च गर्ने लक्ष्य राखेको छ । यसका लागि नेपालगंजबाट कौशिला मगरलाई प्रशिक्षकका रुपमा जिल्ला ल्याएको छ ।