सि.टा. समाचारदाता
सिमकोट । कर्णाली करिडोरको स्याम्ने खोलामा यातायातका साधनहरु जवरजस्ती निर्माण गरिएको सडकमा गुड्दै आएका छन् । खार्पु सिमकोट सडक खण्डको स्याम्ने खोलामा हालसम्म पुल निर्माणका लागि कुनै पहल हुन नसकेको र गाडी मालिकहरुले निर्माण गरेको खोलाको सडकमा गाडीहरु गुड्ने कार्य भई रहेको हो ।
गाडी मालिक पुरन रावतले स्याम्ने खोलामा पुल निर्माण कार्य हुन नसकेको कारण खोलामा निर्माण गरिएको सडकमा हालसम्म यातायातका साधनहरु गुड्ने कार्य भई रहेको बताए । खोलाको वारी र पारी सडक निर्माण कार्य पुरा भएको छ । खोलाको दुवैतिर सडक निर्माण भएपनि पुल निर्माण हुन नसकेको कारण यातायातका साधन सदरमुकाम सिमकोट आउजाउ गर्दा खोलाको पानी तर्नु परि रहेको छ ।
खोलाको सडक पनि निक्कै असजिलो रहेको छ । गाडीहरु तीन सय मिटर खोलामा गुड्ने गर्दै आई रहेका छन् । स्याम्ने खोलामा वर्खा याममा बिगतमा पटक पटक पहिरो जाने गर्दै आएको छ । त्यस्तो अवस्थामा भने निक्कै जोखिम हुने देखिएको छ । खोलाको सडक २०७६ सालमा गाडी मालिकहरुले आफै निर्माण गरेका हुन ।
हिल्सा सिमकोट सडक आयोजनाका योजना प्रमुख बेलबहादुर नेपालीले स्याम्ने खोलामा सडक निर्माण भएको भएपनि पुल निर्माण कार्य हुन नसकेको स्वीकार गर्दै यसअघि प्राबिधिक रुपमा पुलको माग पनि नगरेको देखिएको बताए । सो खोलामा पक्की पुल निर्माणको अति आवश्यक रहेको भएपनि आयोजनाका प्राबिधिकहरु पुल निर्माणका लागि कुनै पहल नै नभएको देखिएको हो ।
उक्त खोलामा सत्तरी मिटर लामो पुलको आवश्यकता देखिएको छ । आयोजनामा आफु आउपछि स्याम्ने खोलाको पुल निर्माणका लागि सर्वे गर्न विभागसंग माग गरिएको र यस पटक रातो कितावमा सर्भेका लागि बजेटको समेत ब्यवस्था भएर आएको छ । पक्की पुल निर्माण गर्न सर्भे चाँडै हुने भएको छ । भरखर सर्भेका लागि बजेट ब्यवस्था भएको कारण पुल निर्माण गर्न भने अझै समय लाग्ने देखिएको छ ।
















