गुणस्तरीय मह उत्पादन गर्न किसानलाई मह प्रशोधन तालिम

फोटो क्याप्सन मह प्रशोधन तालिम लिई रहेका किसानहरु । तस्विर : सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । मौरी पालक किसानहरुलाई मह प्रशोधन सम्वन्धि तालिम प्रदान गरिएको छ । गुणस्तरीय मह उत्पादनका लागि मौरी पालक किसानहरुलाई मह प्रशोधन तालिम दिने ब्यवस्था गरिएको हो ।

नाम्खा गाउँपालिकाका मौरी पालक दश जना किसानहरुलाई आधुनिक किसिमको मह प्रशोधन सम्वन्धि दश दिने तालिमको ब्यवस्था गरिएको उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख श्रीबहादुर बिष्टले बताए । जिल्लामा हालसम्म परम्परगत रुपमा महको प्रशोधन गरिदा गुणस्तरीय मह बजारमा आउन सकेको छैन् ।

उनले सफा र गुणस्तरीय मह उत्पादनका लागि किसानलाई प्रशोधन तालिम प्रदान गरिएको बताए । यो तालिमका लागि सहजकर्ता समेत जिल्ला बाहिरबाट लगिएको छ । किसानसंग रहेको घारबाट निकालिएको महलाई आधुनिक प्रबिधि अपनाएर प्रशोधन कार्य तालिमका क्रममा गरिने छ । यो तालिम नाम्खा गाउँपालिका– १ को हेक्पा गाउँमा सञ्चालन गरिएको छ । तालिम पश्चात सहभागी किसानलाई प्रशोधनका सामाग्री समेत सहयोग गरिने छ ।

उक्त वडा जिल्ला कै सबै भन्दा बढी मह उत्पादन हुनेमा पर्छ । हाल बजारमा गुणस्तीय मह उत्पादन हुन नसकेको गुनासो उपभोक्ताबाट आउने गरेको छ । यो तालिम पछि सफा, स्वच्छ र गुणस्तरीय मह उत्पादन हुने बिस्वास कार्यालयले लिएको छ ।