सिमकोट गाउँपालिकाले ल्यायो सात वटा ऐन नियम

फोटो क्याप्सन सिमकोट गाउँपालिकाका गाउँ सभाका सहभागीहरु । तस्बिर ः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । सिमकोट गाउँपालिकाको दशौं हिउदे गाउँ सभाद्धारा सात वटा ऐन कानूनहरु पारित गरिएका छन् । गाउँपालिकाको बिधायन समितिले तयार पारि पेश गरेका ऐन नियमहरु सभाद्धारा पारित गरिएका हुन ।

लामो समय देखि तर्जुमा भएर ऐन कानूनको रुपमा दिन नसकिएका सात वटा ऐन कानूनलाई दशौं हिउदे गाउँ सभाद्धारा पारित गरिएको गाउँपालिका अध्यक्ष बिजय भण्डारीले बताए । सभाद्धारा पारित गरिएको ऐन कानूनहरुमा मृत्य संस्कार सम्वन्धि कार्य बिधि, जनप्रतिनिधि तथा कर्मचारी स्वास्थ्य उपचार कल्याणको सञ्चालन ऐन, परम्परागत उपचार पद्धती सोवा रिग्पा संरक्षण तथा ब्यवस्थापन सम्वन्धमा बनेको ऐन, परम्परागत उपचारको सुचिकरण मापदण्ड, कृषि तथा पशुपंक्षी फम दर्ता कार्यबिधि, मर्यादित महिनावारी सम्वन्धि कार्यबिधि र खानेपानी मर्मत संभार कोष सम्वन्धि कार्यबिधि २०८१ रहेका छन् । सभाबाट पारित भएको एैन, कार्यबिधि र निर्देशिकाहरु गाउँपालिकाले तत्काल राजपत्रमा प्रकाशन गरेर कार्यान्वयनमा ल्याउने छ ।

सभामा आर्थिक वर्ष ०८१।०८२ को हालसम्मको प्रगति बिबरण पनि प्रस्तुत गरिएको थियो । जसमा आर्थिक वर्षको कुल बजेट ५३ करोड ३२ लाख ३५ हजार ११० रुपियाँमा हालसम्म आठ करोड ४७ लाख ५६ हजार ९७९ रुपियाँ खर्च रहेको बिबरण प्रस्तुती गरिएको थियो ।

सभामा सिमकोट गाउँपालिकाका उपाध्यक्ष शुशिला भाम रोकाया, वडा अध्यक्षहरु सभाका सदस्यहरुको उपस्थिती रहेको थियो । हिउदे गाउँसभा सञ्चालन गर्ने सिमकोट गाउँपालिका दोस्रो भएको छ । यसअघि नाम्खा गाउँपालिकाले पुस १२ गते सभा सम्पन्न गरि सकेको छ । अन्य पाँच वटा गाउँपालिका खार्पुनाथ, सर्केगार्ड, चंखेली, अदानचुली र ताँजाकोटले भने सभा सञ्चालन गरेका छ्रैनन ।