गाउँपालिका स्थापना भएयता सिमकोट गाउँपालिकाको नौ करोड बेरुजो

फोटो क्याप्सन सिमकोट गाउँपालिकाको कार्यालय । तस्बीर : सि.टा

सि.टा. समाचारदाता
सिमकोट । सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाको बेरुजो हालसम्मको बेरुजो रकम नौ करोड भन्दा बढी देखिएको छ । बर्षेनी बेरुजो आकार घटाउनेतर्फ गाउँपालिकाले ध्यान दिन नसक्दा बृद्धि हुँदै गएको हो ।

बेरुजोमा सुन्ने सहनशीलताको नीति लिएको सिमकोट गाउँपालिकाले महालेखाको पछिल्लो लेखा परिक्षण प्रतिबेदन आ.व. ०८०।०८१ ले हालसम्मको बेरुजो रकम नौ करोड २४ लाख दुई हजार ४१५ रुपियाँ औल्याएको छ ।

यो बेरुजो रकम आर्थिक वर्ष ०७३।०७४ यताको आठ आर्थिक वर्षको हो । अघिल्लो आर्थिक वर्ष ०७९।०८० सम्ममा सिमकोट गाउँपालिकाको सात करोड ३७ लाख ५७ हजार ३८४ रपियाँ रहेको थियो । महालेखाले आर्थिक वर्ष ०८०।०८१ मा थप एक करोड ८५ लाख ४५ हजार ३१ रुपियाँ औल्याएको छ । यद्यपि लेखा परिक्षण कै क्रममा बीस लाख २७ हजार ७८४ रुपियाँ भने गाउँपालिकाले सम्परिक्षण गरेको छ ।

अब बाँकी सिमकोट गाउँपालिकाको बेरुजो रकम नौ करोड तीन लाख ७४ हजार ६३१ रुपियाँ रहेको छ । महालेखाले औल्याएको बेरुजो मध्य असुल उपर गर्ने र सैद्धान्तिक बेरुजो रहेको सिमकोट गाउँपालिकाका लेखा अधिकृत बिशाल बोहराले बताए ।

असुल उपर गर्ने बेरुजोका लागि गाउँपालिकाले पत्राचार गरि सकेको बताउदै उनले सम्परिक्षण गर्न सकिने बेरुजोका लागि सबैले सहयोग गर्न आवश्यक रहेको जानकारी दिए ।

बेरुजो कम गर्नका लागि जनप्रतिनिधि, कर्मचारी, उपभोक्ता र निर्माण ब्यवसायीको सहयोग आवश्यक रहेको गाउँपालिकाले जनाएको छ ।