सिरक डस्ना बनाउन तराईबाट हिमालमा

फोटो क्याप्सन सिमकोट गाउँपालिका– ५ को खाद्यक गाउँमा सिरक डस्ना निर्माण गर्दै । तस्बिर ः लोग भण्डारी, हुम्ला

लोग भण्डारी
सिमकोट । जाडो याम लागेसंगै सिरक डस्ना बनाउन तराईका युवाहरु हिमाली जिल्ला हुम्लाका बिभिन्न गाउँमा पुगेका छन् । हालसम्म स्थानीयस्तरमा सिरक डस्ना उत्पादन नभई रहेको अवस्था आम्दानीका लागि तराईबाट हिमाल आउने काम भएको हो ।

मधेश प्रदेशको रौटहट जिल्लाबाट हिमाली जिल्ला हुम्लाको खार्पुनाथ गाउँपालिका– १ को पिउस गाउँ पुगेका अख्तर आलमले रोजगारी कै लागि तराईबाट हिमालमा पुगेर सिरक डस्ना बनाउन सुरु गरिएको बताए ।

यी सिरक डस्नाका लागि खोल मात्र नयाँ बिक्री गर्ने गरिएको छ । डस्नाका लागि पुराना कपडाहरु मेशिनमा पेलेर कच्चा पदार्थ उत्पादन गरेर निर्माण गर्ने गरिएको र त्यसको मुल्य प्रतिकेजी एक सय पचास रुपियाँ लिने गरिएको उनले बताए ।

सडक सञ्जाल जोडिएको कारण ट्याक्टरमा जडित कपडा पेल्ने मेशिन लगिएको छ । मेशिनले पुराना कपडा पेल्ने र नयाँ सिरक डस्ना निर्माण गर्ने कार्य भई रहेको छ । यो कामका लागि चार जनाको टोली आलमसंग रहेको छ । एक दिनमा दश देखि बाह्र वटा सिरक डस्ना तयार हुने गरेका छन् ।

सिरक डस्नाको मुल्य तौल अनुसार निर्धारण गरिएको छ । हालसम्म उक्त गाउँमा आलम टोलीले डेढ सय सिरक डस्ना उत्पादन गरि सकेको छ । अर्डर आउने क्रम जारी रहेको उनले बताए । यो काम गरे बापत हुँदा दैनिक बीसदेखि तीस हजार कमाई हुने गरेको छ ।

यसअघि नयाँ सिरक डस्ना मात्र किनेर प्रयोग गर्दै आउनु भएका हुम्लावासीले अहिले भने आफ्ना पुराना कपडालाई मेशिनमा पेलेर नयाँ सिरक डस्ना उत्पादन गरि प्रयोग गर्न थालेका छन्
यसरी तराईबाट हिमालमा पुग्ने चार वटा समुह रहेको छ । उनीहरु मध्य सदरमुकाम सिमकोट पुगेको कपिलवस्तु जिल्लामा अनिल शाहले यो दुई महिनामा कम्तीमा पनि चार सय सिरक डस्ना उत्पादन गरेको बताए ।

सिरक डस्ना अर्डर गर्नेको भिड लाग्ने गरेको छ । संभव भएसंग सडक सञ्जाल जोडिएका हुम्लाका सवै गाउँवस्तीमा शाहले पुग्ने बताए । उक्त सिरक डस्ना निर्माण गर्ने टोलीलाई गज्जवको रोजगारी भएको छ भने स्थानीयका पुराना थोत्रा कपडा प्रयोगमा आएका छन् ।