
लोग भण्डारी
सिमकोट । उत्तरी सिमा क्षेत्रमा नेपाल र चीनका सुरक्षाकर्मीहरुले सीमा क्षेत्रको सम्युक्त अनुगमन गरेका छन् । नाम्खा गाउँपालिका– ५ को हिल्साको किट क्षेत्रमा पर्ने सिमानाको अनुमगन गर्ने कार्य भएको हो ।
दुबै देशका सुरक्षाकर्मीहरुको निर्णय अनुसार हिल्साबाट किट क्षेत्रमा पर्ने सिमाना र सिमा स्तम्भहरुको सम्युक्त अनुमगन गर्ने कार्य भएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा चौकी हिल्साका प्रमुख सशस्त्र प्रहरी निरीक्षक कृष्णबहादुर ओजाले बताए ।
उनले नदी माथि जमेको बरफमा वारपार गर्दै दुवै देशका सुरक्षाकर्मीहरुले अनुमगन कार्य गरेको बताए । चिसो अत्याधिक बढेको कारण हिस्लाबाट किटसम्मको नदीमा बरफ जमेको छ ।
दुवै देशको सीमानाका अवान्छित घटना नहुन, सीमा स्तम्भको अवस्था बुझ्न र सुरक्षाकर्मीबिच एक आपसमा समन्वय बढाउन सम्युक्त अनुगमन गर्ने कार्य भएको सशस्त्र प्रहरी ४४ नम्बर गुल्म सिमकोटका सशस्त्र प्रहरी नायव उपरिक्षक देवराज राईले जानकारी दिए ।
यसरी सम्युक्त अनुगमनले एक अर्काका बिरुद्ध कुनै पनि गतिविधि नगर्नमा सहयोग पुग्ने बिस्वास उनले ब्यक्त गरे । हिल्साबाट किटसम्म जताततै बरफ जमेको कारण सुरक्षाकर्मीहरुलाई अनुगमन गर्न कठिन भएको थियो ।
त्यसैगरि हिल्साबाट नारा र लिमीतर्फ पनि नेपाली सुरक्षाकर्मीहरुले गस्ती गर्ने कार्य गर्दै आएका छन् । टोलीमा चीनको तर्फबाट चिनीयाँ सुरक्षाकर्मी र नेपालबाट सशस्त्र प्रहरी बल र जनपद प्रहरीको सहभागिता रहेको थियो ।















