सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता

सि.टा. समाचारदाता
सिमकोट । सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता भएको छ । सरकारका प्रवक्ता एवं सञ्‍चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलबार राष्ट्रिय सभामा विधेयक दर्ता गराएका हुन् ।

विधेयकमा सामाजिक सञ्जाल ‘प्लाटफर्म’ र त्यसका प्रयोगकर्तालाई कस्ने गरी ल्याइएको विधेयकमा एक करोडसम्म जरिवाना र पाँच वर्षसम्म कैद हुन सक्ने कडा व्यवस्था राखिएको छ।

विधेयकमा सामाजिक सञ्जालमा ‘ट्रोल’ गर्नेलाई ५ लाख रुपैयाँसम्म जरिवाना प्रस्ताव गरिएको छ। विधेयकको दफा १२ को उपदफा १ (क) मा भनिएको छ, ‘नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा, राष्ट्रिय एकता, स्वाधीनता, स्वाभिमान वा राष्ट्रिय हितमा खलल पुग्ने वा सामाजिक, सांस्कृतिक तथा धार्मिक सद्भाव भड्काउने विषयवस्तु प्लाटफर्ममा प्रसार गर्न पाइनेछैन ।’

त्यस्तै, फेक आइडीमार्फत पनि ‘प्लाटफर्म’ प्रयोग गर्न नपाइने उल्लेख छ । यस्ता ‘प्लाटफर्म’मार्फत हुने आर्थिक कारोबार अनिवार्य रूपमा बैंकिङ प्रणालीमार्फत गर्नुपर्नेछ । दफा १२ कै उपदफा १(ज र झ)मा भनिएको छ, ‘सामाजिक सञ्जाल प्रयोगकर्ताको वास्तविक परिचय खुलाएर मात्र प्लाटफर्म प्रयोग गर्न दिनुपर्नेछ । प्लाटफर्ममा हुने आर्थिक कारोबार बैंकिङ प्रणालीबाट हुने व्यवस्थाको सुनिश्चित गर्नुपर्नेछ ।