सि.टा. समाचारदाता
सिमकोट । नेपाल र चीनको सिमानामा रहेको कर्णाली नदी माथि बरफ जमेको छ । चिसो अत्याधिक बढेर तापक्रम दिउसै माईनसमा झरेपछि नदीको पानीमा बरफ जमेको हो ।
सिमा प्रहरी चौकी हिल्साका प्रहरी सहायक निरीक्षक ललितबहादुर रावतले हिल्सामा कर्णाली नदी माथि बरफ जमेर मानिस वारपार गर्न सकिने अवस्था रहेको बताए ।
उनले हिल्सामा बिहान बेलुका तापक्रम माईनस चौध डिग्री सेल्सियससम्म पुग्ने र दिउसो दश डिग्री सेल्सियसमा झने भएको कारण चौबीसै घण्टा नदीमा बरफ जम्ने गरेको जानकारी दिए । हिल्सामा नदीको क्षेत्रभर बरफ जमेर सेताम्मे देखिने गरेको बताउदै उनले नदी माथि जमेको बरफमा वारापार गर्न सकिने पनि बताए ।
हिल्सा क्षेत्रको सात मिटर लामो नदीमा बरफ जमेको छ । यसअघि नदीको क्षेत्रभर बरफ कहिल्यै नजमेको तर यसवर्ष चिसो बढी भएको कारण बरफ जमेको स्थानीयले बताएका छन् । हिल्सामा नदी वारी नेपाल र नदी पारी चीन पर्छ ।
बिगतमा पनि केही निश्चित स्थानमा मात्र बरफ जम्ने गरेको स्थानीयको भोगाई रहेको छ । केही समय अगाडी नदी माथि जमेको बरफको दुई पट्टी गस्ती गरेर दुवै देशका सुरक्षाकर्मीहरुले सिमा अनुगमन गरेका थिए ।
हिल्सामा हाल जनपद, सशस्त्र प्रहरी र सात जना स्थानीय होटेल कुरावाहरु बस्दै आएका छन् । हिल्सामा बस्दै आएका सुरक्षाकर्मी र स्थानीयले नौमुलेको मुहानमा जमेको बरफलाई फुटाएर खानेपानीको ब्यवस्था गर्दै आएका छन् । नारामा दुई फिट हिउ जमेको कारण अन्य मानिसहरुको आउजाउ समेत बन्द भएको छ ।
























