सि.टा.समाचारदाता
सिमकाेट। हुम्लाको चङ्खेली गाउँपालिका–५ स्थित नेप्का गाउँमा गएराति आएको बाढी–पहिरोले स्थानीय जनजीवन प्रभावित बनेको छ । अविरल असिनापानीसँगै खसेको पहिरोले डाँफे क्षेत्रमा रहेको आधारभूत विद्यालय भवनमा क्षति पुर्याएपछि विद्यार्थीहरूको पठनपाठनसमेत प्रभावित भएको स्थानीयवासीले बताएका छन् ।
जेठ ५ गते राति एक्कासी परेको असिनापानीपछि माथिबाट झरेको पहिरोले विद्यालय भवनसँगै खेतीयोग्य जमिन तथा पशुचौपाया राख्ने गोठहरूमा समेत क्षति पुर्याएको स्थानीय जसबहादुर तामाङले जानकारी दिएका छन् ।
पहिरोका कारण विद्यालय भवन जोखिममा परेपछि नियमित अध्ययन–अध्यापन सञ्चालनमा कठिनाइ उत्पन्न भएको बताइएको छ ।
त्यसैगरी, चङ्खेली गाउँपालिका–५ का वडाध्यक्ष हर्कधन तामाङ र स्थानीय धनसिंह तामाङका गोठहरू पनि पहिरोले पुरिएको जनाइएको छ ।
गोठभित्र रहेका भेँडाबाख्रामा समेत क्षति पुगेको आशंका गरिएको भए पनि क्षतिको यकिन विवरण अझै संकलन हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक शङ्कर खड्काका अनुसार घटनास्थलतर्फ प्रहरी टोली परिचालन गरिएको छ ।
प्रभावित क्षेत्रमा पुगेर क्षतिको विस्तृत विवरण संकलन गर्ने कार्य भइरहेको उहाँले बताउनुभयो ।
सदरमुकाम सिमकोटदेखि उत्तरपूर्व क्षेत्रमा पर्ने चङ्खेली गाउँपालिकाभित्र तल्लो पाली, माथिल्लो पाली, पिप्लाङ र नेप्का गरी चार गाउँ रहेका छन् ।
तीमध्ये गाउँपालिकाको केन्द्र पिप्लाङबाट निकै टाढा रहेको नेप्का गाउँ पुग्न करिब पाँच घण्टा पैदल यात्रा गर्नुपर्ने भएकाले उद्धार तथा अनुगमन कार्यमा समेत कठिनाइ भइरहेको स्थानीयले बताएका छन् ।
स्थानीयवासीका अनुसार बाढी–पहिरोपछि गाउँमा त्रासको अवस्था सिर्जना भएको छ भने थप वर्षा भए थप क्षति हुनसक्ने चिन्ता बढेको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।




















