सि.टा .समाचारदाता
सिमकोट । हुम्ला र बाजुराको सीमा विवाद पछिल्लो समय झन् चर्किंदै गएको छ । विशेषगरी बैशाख २४ गतेदेखि रानीखर्क, लाम्पाटा र च्याचौर क्षेत्रलाई लिएर उत्पन्न भएको विवादले अहिले व्यापक चर्चा र चासोको विषय बनेको छ ।
पर्यटकीय दृष्टिकोणले अत्यन्तै सम्भावना बोकेको उक्त क्षेत्रको सीमा सम्बन्धी विषयले दुवै जिल्लाका स्थानीयवासीबीच बहस र विवाद बढ्दै गएको हो ।
बाजुराका केही स्थानीय नागरिकहरूले पछिल्ला केही समययता रानीखर्क, लाप्पाटा र च्याचौर क्षेत्र बाजुराको सीमाभित्र पर्ने दाबी गर्दै आएका छन् ।
उनीहरूले उक्त क्षेत्रमा बाजुराका नागरिकहरूले भोगचलन गर्न पाउनुपर्ने भन्दै सामाजिक सञ्जाल तथा विभिन्न सञ्चार माध्यममार्फत प्रचार–प्रसार गरिरहेका छन् । साथै, सो क्षेत्रमा अस्थायी प्रहरी चौकी स्थापना गर्ने तयारीसमेत भइरहेको भन्ने सूचनाहरू सार्वजनिक भइरहेका छन् ।
यता हुम्लाका स्थानीयवासीहरूले भने उक्त क्षेत्र आफ्ना पुर्खादेखि नै हुम्ली समुदायले भोगचलन गर्दै आएको दाबी गरेका छन् । स्थानीयका अनुसार हुम्लाका नागरिकहरूले वर्षौंदेखि रानीखर्क,लाम्पाटा र च्याचौर क्षेत्रमा भेडाबाख्रा चरिचरन गर्दै आएका छन् र सो क्षेत्र हुम्लाकै भूभाग रहेको उनीहरूको भनाइ छ ।
सीमा विवाद चर्किंदै गएपछि हुम्लाका स्थानीय सरकार, राजनीतिक दल, समाजसेवी, नागरिक समाज तथा सञ्चारकर्मीहरू समेत सक्रिय बनेका छन् ।
उनीहरूले गुगल होइन, भूगोल हेरौँ सिमानाकाे अवलोकन गराै वास्तविक प्रमाण खाेजाै पुराना प्रमाण र पुर्खौंदेखिको भोगचलन तथा ऐतिहासिक तथ्यका आधारमा रानीखर्क, लाम्पाटा र च्याचौर हुम्लाकै भूमि भएको प्रमाणित गर्नुपर्ने हुम्लि बासिन्दा दाबि रहेकाे छ ।
स्थानीय सरोकारवालाहरूले अब डिजिटल नक्सा वा सामाजिक सञ्जालका आधारमा नभई वास्तविक भूगोलको स्थलगत अध्ययन, पुराना कागजात, ऐतिहासिक प्रमाण र स्थानीय भोगचलनका आधारमा सीमा विवाद समाधान गरिनुपर्नेमा जोड दिएका छन् ।
हुम्लाका स्थानीय बासिन्दाहरूको भनाइ अनुसार हुम्लाको भूभागमाथि कुनै पनि हालतमा बाहिरी हकदाबी स्वीकार गर्न नसकिने अडान कायम रहेको छ ।




















